काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा ३६.८५ प्रतिशतले बढेर ३ अर्ब ३९ करोड ३१ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी ४३.७५ प्रतिशतले बढेर ७ अर्व ४४ करोड ८० लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि बढेसँगै बैंकको खुद नाफामा वृद्धि भएको हो । एभरेष्टको रिजर्भ कोष पनि ११.०३ प्रतिशतले बढेर १० अर्ब नाघेको छ ।
समिक्षा अवधिमा बैंकको इक्विटीमा प्रतिफल (आरओई) १३.३१ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यसको आरओई ११.७६ प्रतिशत रहेको थियो । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । बैंकको प्रतिसेयर आम्दानी ५.४२ रुपैयाँले बढेर ३१.७२ रुपैयाँ पुगेको छ भने खराब कर्जामा सामान्य वृद्धि भएको छ । अघिल्लो वर्ष ०.१२ प्रतिशत रहेको खराब कर्जा यो वर्ष ०.७९ प्रतिशत पुगेको छ । त्यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ २३८.३३ रुपैयाँरहेको छ ।