काठमाडौं । नेपाल बैंक लिमिटेडले धितोमा राखिएको सुनचाँदी लिलाम गर्ने भएको छ । धितोमा राखिएको सुन उकास्न सम्बन्धित ऋण नआएपछि बैंकले धितोमा रखिएको सुन लिलाम गर्ने भएको हो । बुधबार एक सूचना जारी गर्दै बैंकले विभिन्न व्यक्तिको नाममा धितोमा रहेको सुनचाँदी लिलाम गर्न लागेको जनाएको हो ।
धितोमा सुनचाँदी राखेर लिइएको ऋण तिर्न ऋणीले वास्ता नगर्दा र पटकपटक तोकता पर्दा पनि चासो नदेखाएपछि बैंकले धितोमा राखिएका सुनचाँदी लिलाम गर्न लागेको हो ।
लिलामी सूचना जारी गर्दै बैंकले सूचना जारी भएको १५ दिनभित्र ऋणीहरुले बैंकको सम्बन्धित शाखामा सम्पर्क गरी ऋण चुक्ता गरेको खण्डमा धितोवापत राखिएको सुनचाँदी लैजान सक्ने जनाएको छ । तर, यसअवधिमा पनि ऋणी सम्पर्कमा नआए बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अनुसार लिलाम गरिने बैंकले जनाएको छ ।
बैंकका अनुसार बालाजु औद्योगिक शाखा, बुर्तिबाङ, कान्तिपथ र डिल्लीबजार शाखामा रहेका ८ जनाको धितोबापतको सुनचाँदी लिलाम गर्न लागेको हो । यसरी धितो लिलामी हुने ऋणीहरुमा काठमाडौंको टोखा बस्ने देवेन्द्र घिमिरे, बाग्लुङका शेरबहादुर थापा, जेनिशा थापा, काठमाडौंका चन्द्रमान श्रेष्ठ, भीमा गुरुङ, सर्लाहीका अच्युतम रिजाल र काठमाडौंकै ईश्वरसिंह थापा रहेका छन् ।