काठमाडौं । सेयर बजारबारे वृहत अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ । असोज १५ गते विश्व लगानीकर्ता सप्ताहको अवसरमा ‘Securities Market Infrastructures, Instruments, Investors’ Behavior and Market Stability’ विषयक वृहत अन्तरक्रिया हुन भएको हो ।
कार्यक्रम नेपाल धितोपत्र बोर्ड, नेप्से, नागरिक स्टक डिलर र स्टक ब्रोकर एसोसियन अफ नेपालले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् । उक्त अन्तरक्रियामा अर्थमन्त्री प्रकाश शरण महत प्रमुख अतिथिको रुपमा रहेका छन् ।
त्यस्तै, कार्यक्रमको विशेष अतिथिहरुमा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेप्सेका सीइओ कृष्ण बहादुर कार्की, सिडीएसका सीइओ पूर्णप्रसाद आचार्य, लगायत रहने छन् । साथै, कार्यक्रममा स्टक ब्रोकर एसोसियन र मर्चेन्ट बैंकर्स संघका अध्यक्ष पनि सहभागी हुने छन् ।
अन्तरक्रिया कार्यक्रममा नेप्से, स्टक ब्रोकर एसोसियन अफ नेपाल, नागरिक स्टक डिलर, विश्वविद्यालयका एक जना विज्ञबाट पेपर प्रिजेन्ट हुने छ । कार्यक्रम बिहान ९ बजेदेखि १२:३० बजेसम्म हुने जनाईएको छ ।
नाम दर्ता गरेर पहिले नाम दर्ता गरेको आधारमा २०० लगानीकर्ता र २० जना आर्थिक पत्रकारलाई मात्र सहभागी गराउने बोर्डको तयारी रहेको छ ।