Skip to content
LAXMI SUNRISE BANK

‘सरकारी नीतिका कारण ५९ लाख लगानीकर्ता सडकमा आएका छन्’ : सागर ढकाल

अर्थ सरोकार

काठमाडौं । धितोपत्र ब्रोकर एशोशिएशन नेपालका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ पुँजी बजार फोरमका अध्यक्ष सागर ढकालले सरकारी अव्यवहारिक नीतिका कारण ५९ लाख लगानीकर्ता सडकमा आएको बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघद्वारा आयोजित नेकपा एमालेसँग निजीक्षेत्र विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘अहिले वित्त नीति र मौद्रिक नीतिले माईक्रो म्यानेजमेन्ट गरेर पुँजी बजारलाई धराशायी बनाउने काम गरेको छ,’ उनले भने, ‘देशमा व्यापार व्यवसाय विकास र विस्तारको लागि छरिएर रहेको पूँजीलाई संकलन गरी सरकार र नीजि क्षेत्रको लागि नपुग पूँजी जुटाउन, अर्थतन्त्रलाई थप चलायमान बनाई सरकारको लागि राजस्व संकलनको नयाँ क्षेत्रको रुपमा विकास गर्न, कम्पनीहरुको वास्तविक मूल्य निर्धारण गर्ने क्षेत्र पूँजीबजार हो तर हामीकहाँ ठिक यसको विपरित पुँजी बजारलाइ धराशायी पार्ने काम भईरहेको छ ।’

स्वदेशी तथा विदेशी पूँजी आकर्षित गरी ठूलाठूला पूर्वाधार निर्माणदेखि स-साना स्टार्टअपको संचालनको लागि आवश्यक पूँजीको दीर्घकालीन व्यवस्थापन पूँजी बजारबाट गर्नको लागि सहज हुने हुँदा पूँजी बजारको विकास र विस्तारको विकल्प नरहेको उनको तर्क थियो ।

पछिल्लो विवरण अनुसार हितग्राही खाता (डीम्याट) खोल्नेको संख्या करिब ५९ लाख, मेरो सेयर प्रयोगकर्ता ५० लाख छन् भने अनलाइनबाट कारोबार गर्नेको संख्या करिब १९ लाख पुगेको छ । तर सरकारी नीतिकै कारण पुँजी बजार धराशायी भएर ती लगानीकर्ताहरु विचल्लीमा परेर घरबार बिहीन हुने अवस्था आउन लागेको उनको भनाई थियो । ‘कुल जनसंख्याको २० प्रतिशत जनसंख्या पूँजीबजारमा आवद्ध भएका छन् भने कुल सुचिकृत कम्पनीको संख्या २३८ पुगेको छ,’ उनले भने, ‘तर राष्ट्र बैंकले सेयर बजारलाई धराशायी बनाउन अव्यवहारिक नीति अबलम्बन गरेर ४४ खर्ब पुगेको सेयर बजारको पुँजीका करण ३० खर्बमा झरिसकेको छ भने धेरैजसो लगानीकर्ता घरबार बिहीन भएका छन् भने कतिपयले यसैका कारण आत्महत्या समेत गरेका छन् ।’

संस्थागत लगानीकर्ताको लागि करको दर बढी हुनु, करोडौं लगानीका कम्पनीहरुलाई ऋण रकममा सीमा तोकिनु, नियमनकारी निकायहरुले सस्थागत लगानीकर्तालाई लागि प्रोत्साहन गर्नुको सट्टा न्युनतम लगानी अवधि तोक्ने लगायतका कार्यबाट उल्टो निरुत्साहन गर्ने कार्य हुँदै आएको समेत उनले जानकारी दिए । साथै, प्राथमिक सेयरमा आवेदन बन्देज हुनु, अग्रिम कर तथा अन्तिम करको दर धेरै रहनु र सोको सम्बन्धित बर्षमा समायोजनको व्यवस्था नहुनुले जस्ता कारणले संस्थागत लगानीकर्ताको हिस्सा सार्क राष्ट्रमै न्यून रहेको अवका दिनमा पुँजी बजार विकासका लागि यसलाई प्रोत्साहन गर्नुपर्ने उनले जानकारी दिएका थिए ।

आर्थिक वर्ष २०७७/७८ मा करिब १४ खर्ब ६० अर्ब रुपैयाँ बराबरको कारोबार भई करिब १४ अर्ब रुपैयाँ अग्रिम पुँजीगत लाभकर वापत सरकारी खातामा योगदान दिने पुँजी बजारले राष्ट्र बैंकको संकुचनकारी नीतिकै कारण आर्थिक वर्ष २०७८/७९ भरिमा २ अर्बमा झरेको र यसबाट सरकारले ठूलो हिस्सा राजस्व गुमाएको समेत उनले जानकारी दिए ।

साथै, चालु आबको पहिलो दुई महिनामा त्यस्तो राजस्व ५४ करोड मात्र उठेकोले आगामी दिनमा अझै समस्या सिर्जना गर्ने उनको तर्क थियो । अहिले बैंक तथा वित्तीय संस्थाहरुको कूल डिपोजिट ५७.४३ खर्ब र कर्जा लगानी ४८.७४ खर्ब रहेको तर सेयर धितो कर्जा ७६ अर्ब अर्थात् कूल कर्जाको १.५६ प्रतिशत देखिन्छ । जब कि सबै भन्दा बढी कर्जा दुरुपयोग भनिरहँदा समेत १ खर्ब ६ अर्ब सेयर धितो कर्जा प्रबाह भएको उनले जानकारी दिएका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK