काठमाडौं । लगानी बोर्ड नेपाल र रिनिकोला एसडिएन. बिएचडी. मलेसियाबीच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । नेपालमा ग्रिन क्याल्सियम अमोनियम नाईट्रेट (क्यान) Green Calcium Ammonium Nitrate (CAN) मल कारखाना स्थापना सम्बन्धी विस्तृत सम्भाव्यता अध्ययनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
उक्त समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र रिनिकोला एसडिएन. बिएचडी. का प्रबन्ध निर्देशक Mr. Boumhidi Abdelali ले हस्ताक्षर गरेका हुन् ।
सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्था अनुसार रिनिकोला एसडिएन. बिएचडी. ले ऊर्जाको रूपमा विद्युत शक्तिको उपयोग गरी वातावरण मैत्री प्रविधिमा आधारित भई मल उत्पादन गर्नको लागि मिति २०७९ पुस २४ गते पेश गरेको प्रस्तावका आधारमा लगानी बोर्डको ५३औं बैठकले प्रस्तावकलाई अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो ।
साथै, प्रस्तावकसँग गरिने समझदारीपत्रको मस्यौदा लगानी बोर्डको ५५औं बैठकबाट स्वीकृत भएको थियो । समझदारीपत्रको प्रावधान बमोजिम प्रस्तावक रिनिकोला एसडिएन. बिएचडी.ले अनुमतिपत्र प्राप्त गरेको २४ महिना भित्र Detailed Feasibility Study Report लगानी बोर्डको कार्यालयसमक्ष पेश गर्नुपर्ने छ ।
तनहुँ जिल्लाको आँबुखैरेनीमा स्थापना हुने प्रस्ताव गरिएको सो परियोजनाले इलेक्ट्रोलाइसिस प्रविधिको प्रयोग गरी ग्रिन अमोनिया र ग्रिन क्याल्सियम अमोनियम नाईट्रेट मल तयार पार्ने अवधारणा राखेको छ । करिब २६० मिलियन अमेरिकी डलर अनुमानित परियोजना लागत रहेको यस प्रस्तावित परियोजनाबाट वार्षिक ९५ हजार ६०० मेट्रिक टन ग्रिन अमोनिया र २ लाख ८६ हजार ९ सय ७५ मेट्रिक टन ग्रिन क्याल्सियम अमोनियम नाईट्रेट मल उत्पादन हुने प्रस्ताव गरिएको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतले नेपालमा हरित अवधारणामा मल उत्पादन गर्ने उद्देश्य राखेको यस परियोजनाले नेपालको विद्युत लगायतका आन्तरिक स्रोतको परिचालन गरी हरित अर्थतन्त्रको विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका थिए ।
साथै, विश्वसनीय अध्ययनले जोखिम न्यूनीकरणसहित परियोजनाको कार्यान्वयन र दिगो रुपमा सञ्चालन गर्ने मार्गचित्र प्रदान गर्ने भएकाले तोकिएको समयभित्र सम्भाव्यता अध्ययनसहितको प्रतिवेदन पेश गर्न प्रस्तावकलाई आग्रह गरेका थिए ।