काठमाडौँ । नेपाली जुत्ता चप्पल उत्पादक समुहले जावलाखेलमा जुत्ता चप्पल दशैं महोत्सव २०८० उद्घाटन गरेको छ । उक्त समुहले ‘नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान’ भन्ने मुख्य नारा सहित स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले जुत्ता चप्पल दशैं महोत्सवको आयोजना गरेको हो ।
यस जुत्ता चप्पल दशैं महोत्सवको उदघाटन महानगरपालिकाको उपप्रमुख मन्दिरा शाक्यले गरेकी हुन् । उपप्रमुख मन्दिरा शाक्यका अनुसार ‘नेपाललाई आत्मनिर्भर बनाउनका लागि स्वदेशी तथा उद्योगको प्रवर्दन गर्नका लागि महानगरको साथ र सहयोग सदैव रहने बताएकी छिन् । साथै, नेपाली उत्पादनहरु प्रयोग गर्नका लागि पनि सबैलाई आग्रह गरेकी छिन् ।
नेपाल जुत्ता चप्पल उत्पादन संघका अध्यक्ष नानिराज घिमिरेले स्वदेशी ब्राण्डहरुलाई आम उपभोक्ताहरुकोबीच पुर्याउने र आम उपभोक्ताहरुलाई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास जगाउने उद्देश्यले देशका प्रमुख शहरहरुमा विभिन्न खालका मेला महोत्सवहरु आयोजना गर्दै आईरहेको जानकारी दिएका छन् ।
जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव आश्विन १० गतेदेखि कार्तिक ३ गतेसम्म सञ्चालन हुने भएको छ । उक्त महोत्सव विहान ९:०० बजेदेखि बेलुकी ७:०० बजेसम्म खुल्ला हुनेछ । साथै, महोत्सवमा न्युनतम २० प्रतिशत देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको घिमिरेले जानकारी दिए ।
उक्त महोत्सवमा नेपालका चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्राण्डहरु रोयल शु इण्डष्ट्रिजको उत्पादन-रोयल शुज, वेश फुटवेयरको उत्पादन-वि.एफ डियर हिल र वि.एफ स्पोर्ट, लालिगुरास फुटवेयरको-क्रस रोड शुज, शुभकामना फुटवेयरको-फस्टवाक शुज, नमस्ते फुटवेयरको-सिल्स, आर.डि.कलेक्सनको-हाई लाईफ, केटिएम शुजको-केटिएम, डि.जे. शुज कम्पनीको-डि.जे. शुज, फुड फेशनको-वेली शुज, सर अनिल ट्रेड लिंक्सको-उत्सव र कोसेली छाला जुत्ता उद्योगको-कोसेली सुज गरि ११ वटा कम्पनी र ब्राण्डहरुको सहभागिता रहेको छ ।
यस महोत्सवमा ग्राहकले नयाँ ब्राण्ड तथा डिजाइनका ३ हजार बढी मोडलका जुत्ता चप्पलहरु आकर्षक छुटका साथ शुपथ मुल्यमा खरिद गर्न सक्ने जुत्ता चप्पल उत्पादक समुहले जानकारी दिएको छ ।