काठमाडौँ । विद्युत प्राधिकरण वितरण केन्द्र वीरगन्जले लामो समयदेखि विद्युत महसुल नबुझाउने एक हजार आठ सय २३ ग्राहकलाई कालोसूचीमा राखेको छ । विद्युत उपभोग गरे पनि लामो समयसम्म महसुल नबुझाउने ग्राहकलाई कालोसूचीमा राखेर बक्यौता असुल्न कारवाही अघि बढाइएको हो ।
कार्यालय प्रमुख अवधेश दुबेका अनुसार कालोसूचीमा रहेका ग्राहकको तीनपुस्ते विवरण यकिन गर्न कर्मचारीको टोली परिचालन गरिएको छ । टोलीले यकिन गरेपछि ग्राहकमाथि थप कारवाही अघि बढाइने प्रमुख दुबेले बताएका थिए । कालोसूचीमा रहेका ग्राहकबाट सात करोड ६५ लाख ५६ हजार सात सय ६३ रुपैयाँ बक्यौता रकम उठाउन बाँकी रहेको कार्यालय प्रमुख दुबेको भनाइ छ ।
लामो समयदेखि वर्षा नहुनु, बढ्दो गर्मी र पर्सा-बारा करिडोरका औद्योगिक क्षेत्रका उद्योगमा विगतको भन्दा कम विद्युतको उपयोग हुनुजस्ता कारणले आर्थिक वर्ष २०७९/८० मा विद्युत चुहावट ०.५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा विद्युत चुहावट ४.९८ प्रतिशत रहेकामा आर्थिक वर्ष २०७९/८० मा ५.०३ प्रतिशत विद्युत चुहावट भएको प्रमुख दुबेले जानकारी दिएका थिए ।
त्यस्तै,आर्थिक वर्ष २०७९/८० मा विद्युत महसुल नबुझाउने दुई हजार चार सय ६८ ग्राहकको विद्युत लाइन काट्दा एक हजार नौ सय छ ग्राहकबाट ११ करोड ४० लाख ७२ हजार छ सय १५ रुपैयाँ बाँकी बक्यौता रकम असुली भएको विद्युत प्राधिकरण वितरण केन्द्र वीरगन्जका इन्जिनीयर निर्मला फौजदारले बताईन् । सो अवधिमा हुकिङ गरी विद्युत चुहावट गर्ने ७१ जनालाई पक्राउ गरी जरिवानाबापत रु १२ लाख २४ हजार सात सय २४ राजस्व सङ्कलन भएको इन्जिनीयर फौजदारले जानकारी दिएकी थिइन् ।
आर्थिक वर्ष २०७९/८० मा दुई हजार चार सय ४२ नयाँ ग्राहक थपिएको छ । यो सँगै वीरगन्ज क्षेत्रमा ग्राहकको सङ्ख्या ५४ हजार दुई सय तीन पुगेको विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले जनाएको छ ।