काठमाडौँ । नेपाल वायुसेवा निगमलाई सोल्टी होटलको सेयर बिक्री गरेर नयाँ जहाज खरिद गर्न सुझाव दिइएको छ । निगम सुधारका लागि बनेको दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको नेपाल वायुसेवा निगमको संरचनात्मक एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिसमितिले निगमलाई सोल्टी होटलको साढे ४ अर्बको सेयर बिक्री गरी नयाँ जहाज खरिद गर्न सुझाव दिइएको हो ।
सुझाव समितिले आइतबार प्रतिवेदन बुझाउँदै होटलको १ करोड ३ लाख कित्ता सेयर बिक्री गरेर जहाज किन्न सुझाव दिएको समितिले जनाएको छ । ‘निगम नेपाल सरकारको पूर्ण स्वामित्व भएको सार्वजनिक संस्था भएकाले नेपाल सरकारको पूँजी थप गरी आवश्यक मात्रामा जहाज थप गर्नुपर्ने देखिन्छ ।’ समितिले बुझाएको प्रतिवेदनमा भनिएको छ ।
निगम वर्तमान पूँजी अभाव, ऋण बढी र जहाज अभावको चर्को दाबावमा रहेको निश्कर्ष समितिले निकालेको छ । अध्ययन प्रतिवेदनका अनुसार निगमको सोल्टी होटल लिमिटेडको सेयर कित्ता स्वामित्व संख्या १ करोड ३ लाख ३३ हजार ६९९ छ । जसको अहिलेको बजार मूल्य अनुसार साढे ४ अर्ब रुपैयाँ हुने र सो सेयर बिक्री गरी प्राप्त हुने रकम नयाँ जहाज खरिद गर्न उपयोग सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै, नयाँ जहाज खरिदका लागि निगमले विभिन्न शीर्षकमा उठाउनुपर्ने रकम आर्थिक वर्ष २०७८/०७९ सम्म २ अर्ब १९ करोड उपयोग गर्न सकिने बताइएको छ । समितिले नेपाल वायुसेवा निगमलाई विद्युत प्राधिकरणको मोडालिटीमा सञ्चालन गर्न संरचनात्मक सुधारको सुझाव दिँदै जहाज थप गर्नैपर्ने प्रतिवेदन मन्त्रालयमा बुझाएको हो ।
पूर्व गभर्नर क्षेत्री संयोजक रहेको समितिमा चाटर्ड एकाउन्टेन्ट पिउस आनन्द, क्याप्टेन ओम गुरुङ, सञ्चारकर्मी टिकाराम राई र साहारा नेउपाने सदस्य रहेको समितिलाई विभिन्न ८ वटा क्षेत्रमा अध्ययन गरी सुधारका लागि सुझाव पेश गर्न भनिएको थियो ।