काठमाडौं । नेपाली बजारमा चिनीको अभाव र मूल्यवृद्धि भईरहेको बेला नेपालका चिनी उद्योगहरुसँग १९ हजार मेट्रिक टन चिनी रहेको पाईएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अध्ययनमा १ लाख ८८ हजार ५ सय १३ क्विन्टल (१८ हजार ८ सय १३ टन) चिनी भण्डारण गरी राखिएको पाईएको हो ।
बजारमा चिनीको अभाव भएपछि विभागले उत्पादन र बजार अवस्थाबारे अध्ययन गर्न एक समिति गठन गरेको थियो । बजार अनुगमन र अध्ययनका क्रममा कोकाकोला, पेप्सी, स्लाइस, जुस, कन्फेक्सनरी साथै बेभरेज र बिस्कुट उत्पादन गर्ने उद्योगहरुले चिनी भण्डारण गरेर राखेको पाईएको समितिले जनाएको छ ।
बोटलर्स नेपाल, डाबर नेपाल, बरुण बेभरेज जस्ता उद्योगहरुले आफुलाई चाहिने उच्च गुणस्तरको चिनी पहिले नै रकम भुक्तानी गरी किनेको र चिनी उद्योगमै मौज्दात राखेको विभागले जनाएको छ । उक्त परिणामको चिनी एभेरेष्ट, इन्दुशंकर र हिमालय सुगर मिलबाट फेला परेको थियो ।
असार अन्तिमसम्म होलसेलमा ८० रुपैयाँ र खुद्रामा ९५ रुपैयाँ किलोमा कारोबार भइरहेको चिनीको मूल्य मूख्य चाडपर्व सुरु भएसँगै ह्वात्तै बढाइएको थियो । अहिले खुद्रा बजारमा चिनी प्रतिकिलो १५० रुपैयाँसम्ममा बिक्री गरिरहेको पाइएको छ ।