काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ राजश्व समितिका सभापति अम्बिका पौडेलले पुँजीगत लाभकरको विषयमा स्पष्ट व्यवस्था आवश्यक रहेको बताएका छन् । आइतबार काठमाडौँमा धितोपत्र ब्रोकर एसोसिएसन र अर्थ सरोकारले संयुक्त रुपमा आयोजना गरेको ‘विश्व लगानिकर्ता सप्ताह २०२३ अन्तर्क्रिया तथा समापन’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
पुँजीगत लाभकर नै अन्तिम कर हुनुपर्छ भनेर माग आइरहँदा आर्थिक ऐनमार्फत लगानीकर्तामा तरबार झुण्डयाईएको उनले बताएका थिए । ‘अहिले लगानीकर्ता सबैभन्दा धेरै त्यसैमा अल्मलिएका छन्’ उनले भने ।
पौडेलले आफू उद्योग वाणिज्य महासंघको पुँजीबजार समितिको सभापति हुँदा धितोपत्र बोर्डमा बुझाएको सुझाव कार्यान्वयनमा थप छलफल गर्न आग्रह गरेका थिए । ‘पुँजीगत लाभकरको विषय पनि टुंगोमा पुर्याउन जरुरी छ,’ उनले भने ।
ट्रेडर र इन्भेस्टर को हो भनेर आन्तरिक राजस्व विभागले नछुट्याएका कारण पनि लगानीकर्ता लगानी गर्न हिच्किचाएको उनले बताए ।
पुँजीबजार बढ्दा राजस्व बढ्ने र लाखौं लगानीकर्ताको मुहारमा मुस्कान छाउने भए पनि बुझाउन नसकिएको उनको भनाइ छ । नियामक निकाय र नीति निर्माण गर्ने तहले यो विषय बुझ्न नचाहेको उनले तर्क गरेका थिए ।