Skip to content
LAXMI SUNRISE BANK

नेपालमा पहिलो ह्याममेक केवलकार सञ्चालन, साहसिहरूका लागि राम्रो अफर

अर्थ सरोकार

काठमाडौँ । नेपालमा पहिलो ह्याममेक केवलकार सञ्चालनमा आएको छ । सिन्धुपाल्चोकको चर्चित पर्यटकीय केन्द्र सुकुटेमा ३ सय ६० डिग्री स्विङ लगायत साहसिक खेलका गतिविधिहरू सञ्चालनमा आएको हो ।

कम्पनीका अनुसार, स्विङमा ३ सय ६० डिग्रीमा घुमेर थ्रिलको अनुभव गर्न सकिनेछ । साथै, कम्पनीले भोटेकोसी खोलामाथी २ सय २० मिटर लामो जिपलाइन, २२० मिटर लामो स्काइ रोप सुरु गरेको हो ।

त्यस्तै, स्काइ रोप साइकलमा एक जना बसेर चलाउने तथा जोडि बसेर चलाउन मिल्ने गरि बनाइएको छ । थ्रिल भ्याली प्रालिले करिब एक करोड रुपैयाँको लगानीमा सुकुटेमा स्विङ सहित विभिन्न साहसिक खेलहरू सञ्चालनमा ल्याएको हो ।

साथै, र्‍याफ्टिङ व्यवसाय गर्दै आएका महेन्द्र श्रेष्ठ, सम्झना खड्का र राज केसीको लगानीमा सुकुटेमा थ्रिल भ्याली सुरु भएको हो । साहसिक खेलका पारखीहरूका लागि लक्षित गर्दै कम्पनीले सञ्चालनमा ल्याएको सञ्चालक श्रेष्ठले जानकारी दिएका छन् ।

कति लाग्छ शुल्क ?

कम्पनीले सञ्चालनमा ल्याएको अवसरमा रिसोर्टले आफ्ना ग्राहकहरूका लागि तिहारसम्म विभिन्न छुटको घोषणा गरेको हो । जसअनुसार स्वीङका लागि ३ सय रुपैयाँ प्रतिव्यक्ति, केबल कारका लागि प्रतिव्यक्ति तीन सय रुपैयाँ, स्काइ साइकलको एक हजार रुपैयाँ प्रतिव्यक्ति तथा डबल स्काइ साइकलको १५ सय रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार फ्यामिली पिङका लागि २ सय रुपैयाँ तथा गुलेली पिङका लागि पनि २ सय रुपैयाँ शुल्क कायम गरेको  छ ।

कसरी पुग्ने ?

कम्पनीका अनुसार, ‘काठमाडौंबाट दोलालघाट हुँदै सुकुटे पुग्न सकिन्छ । सार्वजनिक तथा निजी सवारी साधनमा सहजै पुग्न सकिने सुकुटे काठमाडौंबाट ६६ किलोमिटरको दूरीमा रहेको छ । काठमाडौंको बसपार्कबाट सार्वजनिक बसमा करिब ३ सय रुपैयाँ भाडा तिर्नुपर्ने हुन्छ । यसबाहेक सुमो लगायतका गाडीले ५ सय रुपैयाँमा सुकुटेसम्म पुर्‍याउेछन् ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK