काठमाडौँ । कृषि बिकास बैंकका डेपुटी जनरल मेनेजर प्रताप सुवेदीले नेपाल बैंकको सीइओमा नियुक्ति पाउन निवेदन दिएका छन् । सीइओ छनोट समितिका एक सदस्यका अनुसार विभु प्रसाद अर्याल, रामदेव यादव, अशोक कुमार पौडेल, सुन्दर पन्थी, लक्ष्मण पौडेल, छपिराज पन्त, राजुनाथ खनाल, बिष्णु देव यादव, प्रमोद बाबु तिवारी, रमेश प्रसाद जोशी, शंकर केसी, सुरेन्द्र भुषण श्रेष्ठ, तिलक राज पाण्डेय, दिर्घ बहादुर अर्याल, ध्रुव चन्द्र गौतम, समता पन्त, देवेश प्रसाद लोहनी र कृष्ण प्रसाद आचार्यसहित सुवेदीले पनि सीइओ बन्न पाउँ भनी निवेदन दिएका छन् । तर कुनै एक बैंकको डेपुटी जनरल मेनेजर पद नछोडी अर्को बैंकको सीइओ बन्न आवेदन दिने कुरा नैतिक प्रश्नको कुरा भएन र ? भन्ने बहस छेडिएको छ ।
अर्थ सरोकार
सुवेदीले यस अघि पनि कृषि बिकास बैंकमा सीइओ बन्न आवेदन दिएका थिए, जुन स्वाभाविक थियो । एउटा बैंकको डेपुटी जनरल मेनेजर भएर सोहि बैंकमा सीइओ बन्न आवेदन दिने कुरा राम्रो कुरा हो । तर यसपाली भने उनले कृषि बिकास बैंकको जागिर नछोडी नेपाल बैंकमा सीइओ बन्ने रहर देखाएपछि अव नेपाल बैंकमा छनोट नभए उनी कुन नैतिकताले कृषिमै काम गर्छन् भन्ने प्रश्न उठेको छ । कृषि बिकास बैंकको सीइओ बन्न पनि उनले हदैसम्मको राजनीतिक पावर लगाउने प्रयास गरेका थिए । यसपाली पनि उनले हदैसम्मको लविङ गरेर नेपाल बैंकमा आफ्नो निवेदन दिएका छन् ।
सुवेदी स्वयमले पनि आफुले राजनीतिक व्यक्तिहरुसँग कुराकानी गरेर नै सो पदमा आवेदन दिएको स्वीकारेका छन् । ‘मैले पनि एक लेभलको सम्बन्धित ठाउँमा कुराकानी गरेर नै सीइओका लागि आवेदन दिएको हुँ ।’ सुवेदीले अर्थ सरोकारसँग भने, ‘सबैको सहयोग भयो भने म सीइओ बन्न सक्छु ।’
‘अनि कृषि बिकास बैंकको बरिष्ट कार्यकारी पदमा हुँदाहुँदै सो पद नछोडी नेपाल बैंकको सीइओमा जागिरको आवेदन दिनु नैतिक कुरा भयो र ?’ भन्ने हाम्रो प्रश्नमा उनले कानुनी रुपमा कुनै पनि बन्देज नभएकोले आफुले सो निवेदन दिएको बताए । ‘विभागीय जानकारी गराउनुपर्ने भन्ने छ । सो जानकारी मैले सम्बन्धित ठाउँमा गराएको छु । बाँकी बाफिया वा राष्ट्र बैंक ऐनले रोक्दैन ।’ उनले भने ।
‘तर यो त नैतिक प्रश्न भयो नि होइन र ? अव तपाईं भोलिबाट कृषि बिकास बैंकमा कसरी काम गर्न सक्नुहुन्छ ? अव बैंकको काम गर्नुहुन्छ कि उता सीइओका लागि लविङ गर्नुहुन्छ ?’ हाम्रो प्रश्नमा उनले भने- ‘म मात्र होइन हाम्रो बैंकको अर्याल सरले पनि त निवेदन दिनुभएको छ नि ।’ यस विषयमा दीर्घ राज अर्यालसँग सम्पर्क गर्दा भने सम्पर्क भएन ।
उनले यस विषयमा साइलेन्ट बसिदिन पनि अर्थ सरोकारकर्मीलाई आग्रह गरे । ‘तपाईंले यस विषयमा साइलेन्ट बसिदिनुपर्ला सर ।’ उनले भने ।
कानुनले दिए पनि यस्तो काम नैतिक रुपमा गलत भएको बैंकिङ क्षेत्रका जानकारहरु बताउँछन् । सुवेदी आफ्ना हाकिम भएकोले आफ्नो नाम नबताउने सर्तमा कृषि बिकास बैंककै एक विभागका प्रमुख सुवेदीको कदम हदैसम्म अनैतिक रहेको दाबी गर्छन् । ‘हामीलाई खुब नैतिकताको कुरा सिकाउने सुवेदी सरले कृषि बिकास बैंक नछोडी नेपाल बैंकको सीइओ बनी पाउँ भनेर निवेदन दिनुभएछ । उहाँको छनोट भएन भने अव उहाँलाई नेपाल बैंक जान खोज्ने हाकिम भन्ने कि आफ्नै हाकिम भन्ने, द्विविधा हुने भयो । ती बैंकरले अर्थ सरोकारसँग भने, ‘सबैले यसलाई गम्भीर रुपमा लिनुभएको छैन, तर यो गम्भीर नैतिक विचलन हो । उहाँमा साँच्चै नैतिकता आत्मविश्वास थियो भने उहाँले कृषि बिकास बैंकको जागिर छोडेर नेपाल बैंकमा आवेदन दिन सक्नुपर्थ्यो । ताक परे नेपाल बैंक, नत्र कृषि नै ठिक’ भन्नेले के पर्फर्मेन्स देलान् ?’
यता राष्ट्र बैंकका अधिकारीहरु पनि यो विषय कानुनी भन्दा पनि नैतिक विषय भएको बताउँछन् । ‘कानुनी रुपमा हेर्ने हो भने सुवेदी सरको कुरा ठिक हो, नैतिक कुरा हेर्ने हो भने उहाँ गलत र तपाईंको विषय सहि हो ।’ राष्ट्र बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने, ‘यो विषय अलि अगाडी राष्ट्र बैंकमा पनि चर्चा भएको हो । यसलाई रोक्ने कि भन्ने विषय पनि उठेको हो । तर त्यतिबेला निर्णय भएन । यस विषयमा आवश्यक बहस हुन भने आवश्यक छ ।’
यसो त देवेश प्रसाद लोहनी पनि राष्ट्रिय वाणिज्य बैंकका डेपुटी कार्यकारी अधिकृत हुन् । उनको निवेदनको विषयलाई लिएर पनि उही खाले प्रश्न उठेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्