काठमाडौँ । भन्सार छली गर्दै सुनको कारोबार गर्ने व्यक्तिहरू पक्राउ परेका छन् । नेपाल आउने क्रममा कतारको उडानमार्फत भन्सार छली गर्दै सुनको कारोबार गर्ने व्यक्तिहरु पक्राउ परेका हुन् ।
अबैध रूपमा सुन ल्याई कारोबार गरेको गोप्य सूचनाको आधारमा जिल्ला काठमाण्डौं महानगरपालीका वडा नं ९ सिनामंगल शम्भुमार्गबाट प्रहरीले उक्त व्यक्तिहरुलाई पक्राउ गरेको हो । जिल्ला भोजपुर सालपासिलिछो गाउँपालिका वडा नं ४ का २४ अमृतधन राई, सुनसरी ईनरूवा नगरपालिका वडा नं ९ का ४४ वर्षिय नजिर मन्सुर, धनुषा हंसपुर नगरपालिका वडा नं ८ का वर्षिय कारी ईसार केवट, खोटाङ रुपाकोट मजुवागढी नगरपालिका वडा नं १५ का २८ वर्षिय अर्जुन भट्टराई र गोर्खा गण्डकी गाउँपालिका वडा नं २ घर भई हाल जिल्ला काठमाण्डौ महानगरपालीका वडा नं १६ बालाजुका ३० वर्षिय अनिष थापालाई प्रहरीले २०८०-०७-१२ गते दिउँसो पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
सो व्यक्तिहरुलाई प्रहरीले २६ लाख ५१ हजार ८ सय ९५ दशमलव ४७ रुपैयाँ पर्ने सुनको ढिक्का ३ थान जम्मा तौल २ सय १४ दशमलव ३६ ग्राम, सिक्रीहरू ३ थान जम्मा तौल ५० दशमलव ०१ ग्राम र नगद १ लाख १० हजार रुपैयाँसहित पक्राउ गरेका हुन् ।
त्यस्तै, पक्राउ परेका व्यक्तिहरूको थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर पठाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।