काठमाडौँ । संविधान दिवसको अवसर पारेर तामझामका साथ सुरु भएको द्रुत बस सेवा बन्द भएको छ । अस्तव्यस्त ट्राफिक जामका कारण यात्रुलाई असहज भएको भन्दै सञ्चालन गरिएको सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा सञ्चालन भएको महिना दिन पनि नपुग्दै बन्द भएको हो ।
तयारी र ठोस योजनाबिनै हचुवाका भरमा सेवा सञ्चालन गर्दा महिना दिनमै द्रुत बस सेवा बन्द गर्नुपर्ने अवस्था आएको स्वयम् यातायात मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
यसो त सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा सञ्चालन गर्नका लागि दुई करोड रुपैयाँ खर्च भएको सडक विभागले जनाएको छ । विभाग स्रोतका अनुसार द्रुत बस सेवाका लागि छुट्टै डेडिकेटेड लेन बनाउन सडकमा रातो रङ लगाउन, ट्राफिक संकेत राख्न र सडकको सामान्य सुधारमा मात्रै साढे दुई करोड रुपैयाँ खर्च भएको छ । तर, महिना दिनअघि मात्रै सडकमा लगाइएको रातो रङ भने अधिकांश ठाउँमा अहिले नै खुईलिसकेको छ ।
सेवा सञ्चालन भएको पहिलो दिनदेखि नै द्रुत बस सेवाको निरन्तरतामाथि धेरैले शंका गरेका थिए । द्रुत बसका लागि छुट्याइएको डेडिकेटेड लाइनमा जथाभावी अन्य सवारी साधन पनि चल्नु र व्यवस्थापनको योजना नहुँदा यो सेवाको निरन्तरतामा प्रश्न उठेको थियो । नभन्दै सेवा सुरु भएको महिना दिन नबिन्दै द्रुत बस सेवा बन्द भएको छ ।
यता भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने द्रुत बस सेवा बन्द नभएको दाबी गरेका छन् । दशैँ तिहारमा यात्रुको चाप कम हुने भएकाले केही समयका लागि सेवा बन्द गरिएको उनको तर्क छ । तर, बन्द भएको उक्त सेवा सञ्चालनको विषय अझै टुँगो लागेको छैन ।