काठमाडौँ । नेपाल राष्ट्र बैंकले कात्तिक १९ गते (आइतबार)देखि सुनको सिक्का (असर्फी) र चाँदीका सिक्का (मेडालियन)को बिक्री सुरु गर्ने भएको छ । यसवर्षको तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले कात्तिक १९ गतेदेखि २४ गतेसम्म असर्फी र मेडालियन बिक्री गर्ने भएको हो ।
एक सूचना जारी गर्दै राष्ट्र बैंकले यसवर्ष १० ग्राम, ५ ग्राम र २.५ ग्रामका सुनका सिक्का (असर्फी) र विभिन्न दरका गाई अंकित, गणेश अंकित र गजलक्ष्मी अंकित चाँदीका सिक्का बिक्री गर्न लागेको जानकारी दिएको छ । हाल राष्ट्र बैंकले गाईको चित्र अंकित मेडालियन सिक्काको बिक्री वितरण गरिरहेको छ ।
राष्ट्र बैंकका अनुसार आइतबारदेखि सुनका असर्फी र चाँदीका मेडालियन सिक्का प्रतिव्यक्ति बढीमा असफी एक सेट र चाँदीका सिक्का (मेडालियन) एक सेट खरिद गर्न सकिनेछ । १० ग्राम मेडालियन सिक्काको मूल्य १ हजार ६ सय रुपैयाँ र २५ ग्राम सिक्काको मूल्य ४ हजार रुपैयाँ तोकिएको छ ।