काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले महंगी नियन्त्रण गर्न नसक्नु सरकारको अकर्मण्यता भएको टिप्पणी गरेकी छिन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गौतमले बढ्दो महंगीको सवालमा सरकारले आफैँ गरेका अल्पकालीन निर्णय कार्यान्वयन गराउन नसक्नु सरकारकै अकर्मण्यता भएको टिप्पणी गरेकी हुन् ।
उनले बजार चलायमान हुन नसक्दा यस वर्षको व्यापारण्–व्यवसाय सुस्ताएको र व्यवसाय घाटा गएकै कारण मुलुकभर झण्डै ५० प्रतिशत सटर खाली रहेको उल्लेख गरेकी छिन् ।
‘बजार चलायमान हुनुपर्ने हो तर यस वर्षको व्यापार–व्यवसाय एकदमै सुस्ताएको छ ।’, सांसद गौतमले भनिन्, ‘व्यवसाय घाटामा गएकै कारण मुलुकभर झण्डै ५० प्रतिशत सटर खाली रहेको नेपाल राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ । व्यापारीले सामान बेच्न सकेका छैनन् । उपभोक्ताले महङ्गी बढेर किन्न सकेका छैनन् ।’
त्यस्तै, गौतमले हाल दीर्घकालीन योजना बनाउने सवालमा सरकार चुकेको समेत आरोप लगाएकी छिन् । सरकारले आफै गरेका अल्पकालीन निर्णय कार्यान्वयन गराउन नसक्नु अर्कमण्यता भएको उनको भनाई छ ।