काठमाडौं । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले भूकम्प पीडितहरूको उद्दार तथा राहतका लागि तत्काल १० हजार अष्ट्रेलियन डलर सहयोग गर्ने भएको छ । संघको विपत उद्दार कोषबाट तत्काल उद्दार तथा राहतका लागि सो रकम छुट्याइएको अध्यक्ष अनिल पोख्रेलले बताए ।
साथै थप सहयोगको लागि ‘गो फण्ड’ मार्फत रकम सङ्कलन भइरहेको अध्यक्ष पोख्रेलले जानकारी दिए । सहयोग गर्न चाहनेले गो फण्ड क्याम्पेनका साथै एनआरएनएको ‘डिजास्टर रिलिफ अकाउण्ट’मा पनि रकम जम्मा गर्न सक्नेछन् । यसरी सङ्कलन गरिएको रकम पछि भौतिक पुनःनिर्माणमा सहयोग गरिने अध्यक्ष पोख्रेलले बताए ।
भूकम्प प्रभावित क्षेत्रमा उद्दार तथा राहतमा संघका तर्फबाट उपाध्यक्ष सञ्जय पुरीले सहजीकरण गरिरहेको जानकारी समेत अध्यक्ष पोखरेलले दिएका छन् । पुरी अहिले भूकम्प प्रभावित क्षेत्रमा नै रहेको र संघको राहत प्याकेजको व्यवस्थापन गरिरहेको उनले जानकारी दिए ।
अध्यक्ष पोखरेलले अहिलेको विपतको अवस्थामा तत्कालै आफूसँग भएका स्रोतसाधनको प्रयोग गरी उद्दार कार्यमा खटिन सम्बन्धित सबैलाई आग्रह समेत गरेका छन् ।
शुक्रबार राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट पीडित भएकाहरूको अहिले उद्दार कार्य जारी छ । जसका लागि विभिन्न संघसंस्थाहरूले राहतका लागि आर्थिक सहयोग घोषणा गर्दै आएकोमा एनआरएनए अष्ट्र्रलियाले पनि आर्थिक सहयोगको घोषणा गरेको हो ।
साथै भूकम्पमा परी ज्यान गुमाउनेहरूमा दुःख व्यक्त गर्दै अध्यक्ष पोखरेलले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।