काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नाफा घटेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार गतवर्षको तुलनामा लघुवित्तको नाफा १०.९६ प्रतिशतले घटेको हो ।
लघुवित्तले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा लघुवित्तको नाफा ८ करोड ८२ लाख रुपैयाँ रहेको छ । जबकी डिप्रोक्सले गत आर्थिक वर्षको सोही अवधिमा ९ करोड ९१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बढेको लघुवित्तको इम्पेयरमेन्ट चार्जका कारण नाफामा दबाब परेको हो ।
यसअवधिमा लघुवित्तको निष्क्रिय कर्जा ३.६८ प्रतिशतबाट बढेर ५.१४ प्रतिशत पुगेको छ । निष्क्रिय कर्जा बढेसँगै लघुवित्तले इम्पेयरमेन्ट चार्जमा ४ करोड ८९ लाख रुपैयाँ छुट्याएको छ ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ०.५३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन १९.५३ प्रतिशतले बढेको छ । त्यस्तै, कम्पनीको अन्य सञ्चालन ०.२९ प्रतिशतले बढेको छ । नाफासँगै समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यस अवधिमा कम्पनीको ईपीएस ११ रुपैयाँ ५१ पैसा घटेर २२ रुपैयाँ ७६ पैसामा सिमित भएको छ । असोज मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ २२१ रुपैयाँ १६ पैसा रहेको छ ।
कुल चुक्ता पूँजी १ अर्ब ५५ करोड १० लाख रुपैयाँ रहेको डिप्रोक्स लघुवित्तको जगेडा कोषमा १ अर्ब ८७ करोड ९३ लाख रुपैयाँ सञ्चित रहेको छ ।