काठमाडौं । एनआरएन अध्यक्ष शर्मासहितको टोलीले उपप्रधानमन्त्री खड्कासँग भेटवार्ता गरेका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) समानान्तर कमिटिका अध्यक्ष राजेन्द्रकुमार (आर के) शर्मा नेतृत्वको टोलीले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन् ।
भूकम्प प्रभावित क्षेत्रहरु जाजरकोट र रुकुम पश्चिमकामा पुगेर राहत सामग्री वितरण गरेपछि उपप्रधानमन्त्री खड्कासँग सुर्खेतस्थित निवासमा एनआरएन टोलीले भेटवार्ता गरेका हुन् । सो भेटवार्तामा अध्यक्ष शर्मासहित निवर्तमान अध्यक्ष रविना थापा, महासचिव बुद्धि सागर सुवेदी, युरोप संयोजक चिन्तामणी सापकोटा तथा एनआरएन अभियन्ता ओम शर्माहरुको सहभागी रहेको थियो ।
उक्त, अवसरमा अध्यक्ष शर्माले एनआरएनएले भूकम्प प्रभावित क्षेत्रमा वितरण गरेको राहत सामग्रीको बारेमा जानकारी गराएका थिए । साथै, आगामी दिनमा गैर आवासीय नेपालीहरुको ज्ञान र सीपका आधारमा भूकम्प पछिको पुनस्निर्माणमा आफूहरुले सरकारसँग समन्वय गरेर काम गर्ने शर्माले प्रतिबद्धता जनाएका छन् ।
उपप्रधानमन्त्री खड्काले जवाफमा विपद्को बेला सबै एकजुट भएर सहयोग गर्नु पर्ने र त्यसका लागि एनआरएनएले गरेको कामको सरकारले उच्च मूल्यांकन गर्ने बताएका छन् ।
त्यस्तै, जाजरकोटको रामीडाँडा केन्द्रविन्दू भएर गत शुक्रबार गएको ६ दशमलव ४ रिक्टर स्केलको भूकम्पबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि हाल राहत वितरण र उद्धार कार्य भइरहेको खड्काले जानकारी दिएका छन् ।













