Skip to content
LAXMI SUNRISE BANK

७ मंशिरमा हरिबोधिनी एकादशी, ब्रत बस्ने चलनका कारण फलफूलको माग ह्वात्तै बढ्यो ! 

अर्थ सरोकार

काठमाडौं । ७ मंशिरमा परेको हरिबोधनी एकादशीका कारण नेपाली बजारमा फलफूलको माग ह्वात्तै बढेको छ । हरिबोधिनी एकादशीका दिन हिन्दु धर्मावलम्वीहरुमध्ये धेरैले ब्रत बस्ने हुनाले पनि नेपाली बजारमा फलफूलको माग ह्वात्तै बढेको हो । विशेषगरी सिजनकै फलफूलका रुपमा रहेका स्याउ, केरा, सुन्तलालगायतको माग बजारमा बढेको छ ।
आहिलेको मौसममा स्याउ, केरा र सुन्तला बढी पाइन्छन् । कालिमाटी फलफूल तरकारी बजार विकास समितिले दैनिक सार्वजनिक गर्ने मूल्यसुची अनुसार फुजी स्याउ प्रतिकेजी ३२० रुपैयाँ देखि ३५० रुपियाँसम्म रहेको छ ।
त्यस्तै, केरा दर्जनको १५० रुपैयाँदेखि १६० रुपैयाँ रहेको छ । नेपाली सुन्तला प्रतिकेजी न्युनतम ९० रुपैयाँदेखि अधिकतम १०० रुपैयाँमा किनबेच भईरहेको छ । अनार ४००, हरियो तर्बुजा ६०, कालो अंगुर ३८०, मौसम ९०, जुनार २२०, भुई कटहर प्रति गोटा १५०, चाईनिज नासपाति २२०, नेपाली मेवा ८०, भारतीय मेवा १४०, अम्बा २००, किवी २००, अभोकाडो २००, स्ट्रबेरी ४००  रुपैयाँ न्युनतम मूल्य रहेको छ ।
एकादशी ब्रतको दिन ब्रत सकिएपछि पनि अन्न नखाने चलनका कारण फलफूलको माग बढेको हो । माग बढे पनि फलफूलको भाउ भने खासै नबढेको बजार विकास समितिले जनाएको छ । यद्यपी उपभोक्ताहरुले भने एकादशीको अघिल्लो दिनको मौका पारेर व्यापारीले फलफूलको भाउ बढाएको आरोप लगाईरहेका छन् ।
हरिबोधिनी एकादशीलाई ठुलो एकादशीका रूपमासमेत लिने गरिएको छ । यो दिनलाई तुलसीको विवाह गर्ने दिन पनि भनिन्छ । तुलसीको मोठलाई फूलले सजाएर तुलसीको विवाह गरिदिने प्रचलन हरिबोधनी एकादशीमा छ ।  हरिबोधिनी एकादशीबाट चीर निद्रामा सुत्नुभएका विष्णु भगवान् उठ्ने विश्वास भएकाले पनि हरिबोधिनी एकादशीलाई विशेष मानिन्छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK