काठमाडौं । हरिबोधनी एकादशीका दिन आज तुलसीको मठ सजाएर पूजा आराधना गरिँदै छ ।
देशभरका विभिन्न शक्तिपिठसँगै भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित प्रसिद्ध चाँगुनारायण मन्दिरमा पनि दर्शनार्थीको घुइँचो लागेको छ । चारनारायणमध्येका जेठो नारायणका रुपमा पूजिँदै आएको चाँगुनारायण मन्दिरमा आज बिहान ४ बजेदेखि दर्शनार्थीको घुइँचो लागेको मन्दिरका मूल पूजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिए ।
आजका दिनमा चार नारायणको दर्शन गरेमा पुण्य प्राप्त हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहेकाले भक्तजनले भक्तपुरको चाँगुनारायण, काठमाडौँको शेषनारायण, ईचंकुनारायण र ललितपुरको विशङ्खुनारायणको दर्शन गर्ने गर्दछन् ।
असाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवाण विष्णु आजै जागा हुने भएकाले यस दिनलाई हरिबोधनी एकादशीको रुपमा विशेष पूजाअर्चना गरेर मनाइने गरिन्छ ।
हरिशयनी एकादशीका दिन घरघरमा रोपिएको तुलसीको मठलाई परम्परा अनुसार सिगारेर पूजा गरी माला लगाएर विष्णुसँग विवाह गराइएको दिने प्रचलन रहेको छ । एकादशीको दिनमा व्रत बस्ने र चामलको परिकार खान नहुने परम्परा अनुसार पिँडालु र सख्खरखण्डको परिकार खाने गरिन्छ ।