Skip to content
LAXMI SUNRISE BANK

मनकामना केबलकार २६ वर्षमा प्रवेश, बेस स्टेशनमा ५५ करोड लागतमा रिसोर्ट बन्दै

अर्थ सरोकार

काठमाडौँ । नेपालको पहिलो केबलकार सेवा मनकामना केबलकारले २५ वर्ष पूरा गरेको छ । स्वप्नदर्शी उद्यमी स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना आँट र लगानीमा सुरु भएको मनकामना केबुलकारले २५ वर्ष पुरा गरेको हो ।

कम्पनीले एक सुचना जारी गर्दै केबलकारको सञ्चालक कम्पनी मनकामना दर्शन प्रालिले आगामी दिनमा अझ स्तरीय दिने प्रतिबद्धता व्यक्त गरेको छ । कम्पनीले माता मनकामनाको असीम अनुकम्पा र यात्रुजनको स्नेहले मनकामना केबुलकार सेवा यातायातको क्षेत्रमा विशिष्ट इतिहास रच्न सफल भएको छ ।यस्तै, कम्पनीले आफ्नो २५औं वार्षिकोत्सवको उपलक्ष्यमा नेपालमा केबुलकार सेवाको परिकल्पनाकार एवं संस्थापक स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको साहसिक एवं ऐतिहासिक निर्णयको स्मरण गर्दै उनिप्रति भावपूर्ण श्रदा अर्पण गरेको छ ।

केबलकार सेवाले हिन्दुहरुको प्रसिद्ध तीर्थस्थल मनकामना र वरपरको क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गराउन अतुलनीय योगदान गरेको छ । उक्त सेवा शुभारम्भ भएसँगै आन्तरिक र विश्वभरका पर्यटक आकर्षित गर्न सफल गन्तव्यको रुपमा स्थापित भएको छ ।

मनकामना दर्शन प्रालि २०५३ कात्तिक २२ गते स्थापना भएको कम्पनी हो । प्रालिले २०५४ माघको अन्तिम साता केबुलकार निर्माण प्रारम्भ गरी २०५५ मंसिर ८ गतेबाट व्यावसायिक सेवा सुरु गरेको हो । देशमा सशस्त्र द्वन्द्व चलिरहेको बेला अनेकौं चुनौतीको सामना गर्दै ठूलो लगानीमा केबुलकार सेवा सञ्चालन गरेर कम्पनीले ठूला लगानीकर्ता एवं उद्यमी व्यवसायीमा उत्साह जगाउने काम गरेको थियो ।मनकामना केबुलकारको थालनीले नेपालमा लगानीको ठूलो सम्भावना रहेको सन्देश पनि प्रवाह गरेको थियो । सुरुका २-४ वर्ष अपेक्षाअनुरुप यात्रु नआए पनि अविचलित सेवालाई निरन्तरता दिएको छ । २५ वर्ष पूरा गरी २६ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीकोे परियोजनामा ऋण लगानीको अगुवाइ गर्ने नेपाल बैंक तथा अन्य लगानीकर्ता राष्ट्रिय वाणिज्य बैंक र तत्कालीन नेपाल बंगलादेश बैंकको योगदानको पनि कम्पनीले स्मरण गरेको छ ।

त्यस्तै, सेवा सुरु गरेको ६ वर्षमा ऋण चुक्ता गर्ने लक्ष्य रहेकोमा तत्कालीन विषम परिस्थितिकाकारण ऋण चुक्ता गरिसक्न ७ वर्ष लागेको कम्पनीले जनाएको छ । कम्पनीले २५ वर्षको समयमा केबुलकारको एनालग  प्रविधिलाई नवीनतम डिजिटल  प्रणालीमा स्तरोन्नति गरेको कम्पनीका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिएका छन् ।

अस्ट्रियाको डोपलमेयर कम्पनीको डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने काम सन् २०२१ मै सम्पन्न गरिसकेको छ । कम्पनीले बाँकी काम आगामी सन् २०२४ को भदौ-असोजमा सम्पन्न गर्ने योजना अनुसार काम गरीरहेको छ । सोको लागि आवश्यक केही उपकरण आयात भइसकेको छ । अबको चरणमा नियन्त्रण प्रणाली , सञ्चार केबुलका साथै केबुलकारलाई केबुलको लठ्ठा फेरेर पहिलेकै जस्तो नयाँ र स्तरीय प्रविधिको स्वरुपमा सञ्चालन हुनेछ । केबुलकार स्तरोन्नति गर्न करिब ४५ करोड रुपैयाँ लगानी हुनेछ ।कम्पनीका प्रबन्ध निर्देशक श्रेष्ठले भने, ‘सन् २०२४ को अन्त्यमा वा २०२५ सुरुबाटै सञ्चालन गर्ने गरी मनकामनामा केबुलकार हाताभित्र सुविधा सम्पन्न रिसोर्ट निर्माण भइरहेको छ । ४० कोठाको यो रिसोर्टमा स्विमिङ पुल, हेल्थ क्लब, सभा–सेमिनार हल र रेस्टुरेन्टको सुविधा हुनेछ । हाम्रो भगिनी संस्था रिसोर्टस् बाई मनकामना केबुलकार प्रालिको नामबाट सञ्चालन हुने उक्त रिसोर्टमा लगानी करिब ५५ करोड रुपैयाँ हुने अनुमान छ । रिसोर्ट सञ्चालनमा आएपछि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक र अन्य पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य छ ।’

मनकामना केबुलकारले सुरुआती वर्षमा २-३ लाख यात्रुलाई सेवा दिएकोमा अहिले बढेर वार्षिक ११ लाख यात्रुलाई सेवा दिइरहेको छ । यस वर्ष १२ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिएको हो ।

त्यस्तै, सामाजिक, परोपकारी एवं पुण्य कार्यलाई पनि व्यवसायलाई सरह प्राथमिकता दिनुपर्छ भन्ने संस्थापक स्वर्गीय श्रेष्ठको दर्शनलाई केन्द्रमा राखेर मनकामना दर्शन प्रालिले मनकामना र आसपासका क्षेत्रको विकास, स्वास्थ्य, शिक्षा तथा विपन्न वर्ग र जातिलाई सहयोग गर्दै आएको छ । विनाशकारी भूकम्पको बेला कम्पनीले पश्चिम गोरखाका ७-८ गाविसलाई राहत सामग्री उपलब्ध गराएको थियो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले केबुलकार टिकटबाट भएको आम्दानीको १-१ प्रतिशत रकम सहिद लखन गाउँपालिका गोरखा र इच्छाकामना गाउँपालिका चितवनलाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति सम्पदा जगेर्ना, विपन्न वर्गको हित तथा दैवी प्रकोपको लागि भनी वर्षेनि सहयोग गर्दै आएको छ । साथै, उत्कृष्ट करदाताको रुपमा सम्मानित हुँदै आइरहेको छ ।

कम्पनीलाई यस ठाँउसम्म आइपुग्न मदत गर्ने सम्पूर्ण यात्रु, गोरखाको सहिद लखन र चितवनको इच्छाकामना गाउँपालिका, दुवै गाउँपालिकासम्बद्ध व्यक्तित्वहरु, स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सरकारी निकाय तथा कम्पनीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णमा कम्पनीले आभार व्यक्त गरेको छ ।

कम्पनीले आफ्ना कर्मचारीको लगनशीलता र योगदानको उच्च कदर गर्दै सबैमा आभार व्यक्त गरेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK