काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को साधारणसभा हुने भएको छ । कम्पनीको मङ्सिर १४ गते बिहीबार बसेको संचालक समितिको बैठकले पुस १७ गते साधारणसभा गर्ने निर्णय गरेको हो । सभा अनुपम फुडल्याण्ड एण्ड ब्यांक्वेवट, बत्तिसपुतली, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुने जानईएको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ४.२१०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । त्यस्तै, सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
साथै, सभामा आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको छ । बैंकको प्रबन्धपत्र संशोधन गर्ने र सोका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ । संस्थापक समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा पनि छ ।
कम्पनीले सभा प्रयोजनका लागि पुस ६ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस ५ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउने छन् ।