काठमाडौँ । नेपाल सरकारले ७ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । १९ मंसिरमा राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले विकास ऋणपत्र बोलकबोल मार्फत ७ अर्ब आन्तरिक ऋण उठाउने भएको हो । विकास ऋणपत्र ‘च’ नाम दिइएको उक्त ऋणपत्रको अवधि ८ वर्ष रहेको छ ।
ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुनेछ । बोलवालो कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रम मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम हुने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्नेछन् ।
राष्ट्र बैंकका अनुसार ऋणपत्रको ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ । ऋणपत्र धितो राखी कर्जा लिन र दिन पनि पाइनेछ । ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल पेश गर्नुपर्नेछ ।
सरकारले चालु आर्थिक वर्षमा २ अर्ब ४० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । हालसम्म सरकारले १ खर्ब भन्दा बढी आन्तरिक ऋण उठाइसकेको छ ।