काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले व्यवसाय गर्नका लागि नेपालमा जस्तो अवसर अरु ठाउँमा नभएको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
व्यवसाय सुरु गर्न तथा भएको व्यवसाय विस्तार गर्नका लागि नेपालमा जति अवसर र सम्भावना छ अन्यत्र नभएको अध्यक्ष ढकालले दाबी गरेका छन् ।
ढकालका अनुसार अन्य देशमा भन्दा नेपालमा व्यवसायिक चुनौति कम छन् । यद्यपि रुस–युेक्रेन तथा कोरोना महामारीका कारण केही असहजता महसुस भए पनि व्यवसायिक भविष्य सुन्दर भएको उनले बताए ।
हाल नीतिगत तथा नियमकीय निकायसँगको कमजोर समन्वयका कारण केही समस्या परेको भने ढकालले स्वीकारेका छन् । तर, आगामी दिनमा लगानीकर्ताको दृष्टिकोणमा व्यवसाय गर्नका लागि नेपाल भन्दा उपयुक्त ठाउँ अन्त नहुने ढकालले दाबी गरेका छन् । सँगै अध्यक्ष ढकालले नेपालमा कृषि, पर्यटन, आईटी तथा जलविद्युतको क्षेत्रमा अत्याधिक अवसर रहेको पनि बताएका छन् ।