काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सेयर बजार लयमा फर्किएको बताएका छन् । भरतपूर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अर्थमन्त्री डा.महतले पछिल्लो समय सेयर बजार लयमा फर्किएको बताएका हुन् । यति मात्र होइन, बजारले लय समातिसकेकोले अब मुलुकको अर्थतन्त्रको सुधार निश्चित भएको पनि अर्थमन्त्रीले बताएका छन् ।
यसो त सेयर बजार र घरजग्गा कारोबारलाई अर्थतन्त्रको ऐना पनि भन्ने गरिन्छ । यही कारण पनि सुध्रिएको सेयर बजार र लय लिएको घरजग्गा कारोबारले अर्थतन्त्र सुधार हुने पक्का भएको अर्थमन्त्रीको भनाई छ ।
‘सेयर बजारले लय लिएको छ, बिस्तारै माथि जाँदैछ । घरजग्गाा कारोबार पनि सुधार भएको छ ।’, अर्थमन्त्रीले भने, ‘यसले मुलुकको अर्थतन्त्र सुधार हुने पक्का भएको छ ।’
त्यस्तै, अर्थमन्त्री महतले बाहिर चलेको हल्लाजस्तो अर्थतन्त्र संकटमा नरहेको पनि दाबी गरेका छन् । ‘अर्थतन्त्र संकटमा पुग्यो, लगानी गर्ने अवस्था छैन जस्ता कुराहरु आइरहेका छन् । तर खासमा त्यस्तो होइन ।’, उनले भने, ‘तथ्यांकले पनि अर्थतन्त्र सुध्रिएको स्पष्ट देखाउँछ । लगानी गर्ने वातावरण पनि राम्रो छ । नकारात्मक हल्लाका पछि लाग्नु हुन्न ।’
साथै अर्थमन्त्री महतले अहिले मुलुकको अर्थतन्त्र सुधारको गतिमा भएकाले सबै सूचकहरु सकारात्मक रहेको र यसको सकारात्मक प्रभाव सेयर बजारमा पर्ने पनि बताएका छन् ।