काठमाडौँ । ट्रीटन इन्टरनेशनल कलेजका विद्यार्थी शैक्षिक अध्ययनका लागि इलाम पुगेका छन् । कलेजमा समाज कार्य (बिएसडब्ल्यु) चौँथो वर्षमा अध्ययनरत विद्यार्थीहरु अध्ययनका लागि इलाम पुगेका हुन् ।
उनीहरुले अध्ययनको केन्द्र इलामको देउमाई नगरपालिका-३ पानीटारलाई बनाएका थिए । अध्ययन अवधिभर विद्यार्थीहरुले पानीटारको अवस्था, समस्या र समाधान बारेमा अध्ययन गरेका छन् । सोही अध्ययनका आधारमा विद्यार्थीहरुले प्रतिवेदन तयार पार्नेछन् ।
पर्यटकीय हिसाबले पनि महत्वपूर्ण मानिएको पानीटार क्षेत्रमा चिया बगानको अवस्था र बजारीकरणका विषयमा अध्ययन गरिएको समाज कार्य विभागका प्रमुख चन्द्रदेव भट्टले बताएका छन् । भट्टका अनुसार अध्ययनबाट निक्र्यौल भएका चुनौती र समाधानका उपायहरुलाई विश्लेषणात्मक रुपमा प्रस्तुत गरिनेछ । त्यस्तै, पानीटार क्षेत्रलाई केन्द्रविन्दु बनाएर गरिएको अध्ययनले विद्यार्थीको सिकाई बलियो बन्नुका साथै उक्त क्षेत्रको समस्या पहिचान र समाधानमा पनि सहयोग पुग्ने भट्टको भनाई छ ।
त्यस्तै, विद्यार्थीहरुले पानीटारमा पर्यटन र कृषी मात्र नभएर पछिल्लो समय फस्टाउँदै गएको ‘होम स्टे’ व्यवसायको सम्भाव्यता, अवसर र चुनौतीका विषयमा पनि अध्ययन गरेका छन् । परम्परागत सामाजिक कार्यको अभ्यास, सामाजिक कार्यविधिमा अनुसन्धान लगायत विषयको पाठ्यक्रम अनुसार विद्यार्थीलाई अध्ययनका लागि लगिएको अनुसन्धान सिविरका सुपरभाइजर रश्मि पौडेलले बताएकी छिन् ।
साथै, अध्ययनका क्रममा विद्यार्थीहरुले संघीयतापछि स्थानीय स्तरमा भएका विकास निर्माण, शैक्षिक उन्नति तथा सामाजिक गतिविधिमा आएको परिवर्तनको समेत अध्ययन गरेका छन् । यसबीचमा विद्यार्थीहरुले स्थानीय, नागरिक अगुवा तथा जनप्रतिनिधिहरुसँग पनि छलफल गरेका छन् ।
इलामको पानीटार भौगोलिक दृष्टिकोणले पनि सुन्दर छ । साथै पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रुपमा पनि पानीटार स्थापित भएको छ । यही कारण पनि पानीटारको पर्यटकीय सुधार, भौगोलिक विकास र प्रवद्र्धनका लागि प्रदेश सरकार, स्थानिय सरकार तथा केन्द्र सरकारले पनि खास चासो दिनुपर्ने देखिएको अध्ययन टोलीको निष्कर्ष छ । चिया, अलैची, अम्रेसो, किवी, दुग्ध लगायतका कृषि उत्पादनलाई विस्तार तथा बजारीकरण गर्नुपर्ने यस अध्यनले देखाएको छ ।
त्यस्तै, पानीटारको भौतिक तथा पर्यटकीय परिवर्तनसँगै सामाजिक विकासका लागि पनि बजेटको अभाव रहँदै आएको देउमाई नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पदम बहादुर कटुवालले बताएका छन् । अध्ययन प्रश्चात औपचारिक कार्यक्रममार्फत विद्यार्थीहरुले स्थानिय सरोकारवाला निकायहरुलाई बोलाएर आफुले भेटेका समस्या तथा ती समस्याहरुको सम्भावित समाधानका बारेमा समेत अन्तरक्रिया गरेका छन् । यसले पानीटारको क्षेत्रगत सुधारमा सहयोग पुग्ने विश्वास गरिएको छ ।