×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१४ करोडको व्यक्तिगत लगानीमा फोहरबाट ग्यास उत्पादन सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

१४ करोडको व्यक्तिगत लगानीमा फोहरबाट ग्यास उत्पादन सुरु

Artha Sarokar

१९ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरमा फोहरबाट ग्यास र जैविक मल उत्पादन गर्न सुरुवात भएको छ । व्यक्तिगत लगानीमा कर्णालीमै पहिलो पटक वीरेन्द्रनगर–११ को सिमलकुनामा फोहरबाट ग्यास र जैविक उत्पादन गर्न थालिएको हो । वीरेन्द्रनगर–११ का युवा कृष्णप्रसाद ढकालले दुई बिघा जग्गा २० वर्षको लागि भाडामा लिएर फोहरलाई मोहरका रुपमा रुपान्तरण गर्न सुरु गरेका हुन् । नगरपालिकाभित्रको सबै फोहरलाई सङ्कलन गरी ग्यास र जैविक मल उत्पादनको लागि प्रयोग गर्ने गरिएको उनले जानकारी दिएका छन् ।

रु १४ करोड लगानीमा जर्मन प्रविधिमा ग्यास प्लान्ट स्थापना गरी ग्यास र जैविक मल उत्पादन सुरु गरिएको ढकालको भनाइ छ । सो रकममध्ये पाँच करोड विश्व बैंकको सहयोग छ । अहिले तरकारी पसलबाट निस्कने फोहर सङ्कलन गर्ने गरिएको जनाउँदै ढकालले अब प्रत्येक घरघरबाट निस्कने फोहर सङ्कलन गरी प्रयोग गरिने योजना रहेको बताए । ‘हामीले नगरपालिकासँग सहयोगको लागि आग्रह गर्यांै, तर सहयोग पाएनौँ, अनि आफ्नै ट्र्याक्टर किनेर फोहर सङ्कलन गरेर ल्याइरहेका छौँ ।’, उनले भने, ‘अब प्रत्येक घरबाट निस्कने फोहर सङ्कलन गरी ग्यास र जैविक मल उत्पादन बढाउँदैछौँ ।’

ग्यास उद्योग प्लान्टबाट अहिले दैनिक सात सय २० क्विन्टल ग्यास र नौ टन जैविक मल उत्पादन भइरहेको छ । उत्पादित ग्यास खाना पकाउनेसहित सवारी साधन सञ्चालनको लागि पनि प्रयोग गर्न सकिने भएकाले पेट्रोलियम पदार्थको खपतसमेत घट्ने सञ्चालक ढकालको भनाइ छ । गत जेठबाट हामीले ग्यास र जैविक मल उत्पादन सुरु भएको जनाइएको छ । ‘यो ग्यास उत्पादनले सरकारलाई सहयोग पुग्ने छ । पहिलो कुरा रासायनिक मलको प्रयोगलाई घटाउने र त्यसमा दिने अनुदान हामीले उत्पादन गर्ने जैविक मलमा दिनुपर्छ, जसले गर्दा एकातिर अर्गानिक उत्पादन पनि बढ्छ भने अर्कोतर्फ हामीले फोहरबाट ग्यास पनि उत्पादन गरिरहेका छौँ, यो ग्यासले खाना पकाउने मात्रै नभई सवारी साधन चलाउन पनि हुने भएकाले राज्यको वार्षिक रु १८ करोड रकम जोगिन्छ’, उनले भने ।

ग्यास प्लान्ट उद्योगले वातावरणलाई समेत सन्तुलन राख्ने उहाको भनाइ छ । ग्यास र जैविक मल उत्पादन गरिरहेको यो उद्योगमा अहिले १९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उत्पादित ग्यास रु एक सय ४० किलो र मल रु २५ किलो बिक्री हुँदै आएको छ ।

सरकारबाट सहयोग नपाएको गुनासो
ढकालले व्यक्तिगत लगानीमा सञ्चालन गरेको ग्यास र जैविक उत्पादन उद्योग सञ्चालनको लागि सरकारबाट सहयोग पाउन नसकेको गुनासो गरेका छन् । उनले सरकारले गर्नुपर्ने लगानी व्यक्तिले गर्दा पनि सरकारले सहयोग नपाएको बताए । ‘मैले यो उद्योग सञ्चालनको लागि वीरेन्द्रनगर नगरपालिकासहित प्रदेश सरकारको समेत सहयोगको अपेक्षा गरेको थिए । तर सहयोग पाउन सकिन, करोडौँ लगानी गरेर स्थापना गरियो, पहिले जग्गा नै पाउन सकिन । नगरपालिकासँग फोहर ल्याइदिने व्यवस्था मात्रै गरिदिनुहोस्भन्दा पनि सहयोग पाइन’,, उनले भने ।

उनले उत्पादनको लागि चाहिने मेसिन मर्मत गर्नुपरे पनि भारतमा लैजानुपर्ने बाध्यता आफूलाई रहेको जनाउँदै लगानी गरेर स्थापना गरेको उद्योग चलाउन सहज बनाइदिन सरकारसँग माग गरेका छन् । उनले २० वर्षपछि सरकारकै स्वामित्वमा उद्योग दिइनेसमेत जानकारी गराएका छन् । कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री कृष्णकुमार विसीले ग्यास प्लान्ट उद्योगको निरीक्षण गरेका छन् । सो अवसरमा उहाँले कर्णालीमै व्यक्तिगत रुपमा यति ठूलो लगानी गरी उद्योग स्थापना गर्न सफल भएको जनाउँदै सरकारले लिएको नीतिलाई समेत सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी