काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्सले ‘केयर-एनपी ट्रिपल बि प्लस’ रेटिङ पाएको छ। रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँछ ।
कम्पनीले आफ्ना लगानीकर्ताहरू तथा सम्पूर्ण हितकारीहरुको सुरक्षाको निम्ति आफ्ना जोखिमलाई न्यूनीकरण गर्दै लगेको समेत यस रेटिङले थप पुष्टि गर्ने दाबी गरेको छ । रेटिङ एजेन्सी केयर नेपालले कम्पनीलाई अघिल्लो वर्ष ‘केयर-एनपी ट्रिपल बि’ रेटिङ गरेको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०८०-०८१ को अवधिमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय अवस्था तथा कार्य सञ्चालनमा तुलनात्मक रुपमा दिगोपनको वृद्धिका साथै अण्डरराइटिङ कार्यसम्पादन र लगानीबाट आर्जित नाफाका कारण कम्पनीको रेटिङ परिमार्जन भएको हो ।
रेटिङ एजेन्सीले आर्थिक वर्ष २०८०-८१ मा हकप्रद तथा सार्वजनिक शेयर जारी गरे पश्चातको कम्पनीको नेटवर्थको वृद्धिलाई पनि मूल्याङ्कन गरेको छ । जसले गर्दा आर्थिक वर्ष २०८०-८१ को अन्त्यमा लगानी आधारमा वृद्धि र वित्तीय स्वस्थता समाधान प्रोफाइलमा मा सुधार भएको छ ।
कम्पनीले नियमनकारी निकायले तोकेअनुसार आफ्नो चुक्ता पूँजीलाई ५ अर्ब रुपैयाँ समेत पुर्याएको छ । यसैगरी आगामी दिनहरूमा पनि कम्पनीले आफ्ना परिसूचकहरू अझ सशक्त गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।