×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिरहामा प्रमुख प्रशासकीय अधिकृतको खुलेआम ‘लुट’, ‘घुस रकम बैंक खातामै हाल्न लगाउँथे, पैसा नदिए भुक्तानी रोक्थे’  

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिरहामा प्रमुख प्रशासकीय अधिकृतको खुलेआम ‘लुट’, ‘घुस रकम बैंक खातामै हाल्न लगाउँथे, पैसा नदिए भुक्तानी रोक्थे’  

Artha Sarokar

२१ श्रावण २०८१, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । सिरहाका एक जना सरकारी अधिकारीले घुस र कमिसनबापतको रकम आफ्नो बैंक खातामा जम्मा गर्न लगाएको पाइएको छ । औरही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सर्वजित झाले रकम आफ्नो बैंक खातामा जम्मा गर्न लगाएको पाइएको हो । प्रमुख प्रशासकीय अधिकृत झाले एक दुई जनासँग मात्र होइन, दर्जनौँ कर्मचारी र स्वयं गाउँपालिका अध्यक्ष शिवजी यादवलाई पनि कमिसनवापतको रकम पहिले नै उनको बैंक खातामा जम्मा गर्न लगाएर मात्र भुक्तानीको चेकमा हस्ताक्षर गरिदिएको देखिएको छ ।

गत असार २५ गतेदेखि साउनको ८ गतेसम्ममा प्रमुख प्रशासकीय अधिकृत झाको विभिन्न बैंक खातामा कमिसन र घुसको १० लाख भन्दा बढि रकम जम्मा भएको छ । यसबाहेक उनले करिब १० लाख रुपैयाँ नगदै बुझेका छन् । 

प्रमुख प्रशासकीय अधिकृत झाले औरही गाउँपालिकामा कार्यरत वन व्यवस्थापन अधिकृत सुशील यादवसँग २१ हजार कमिसन लिएका थिए । ‘समृद्धिको लागि वन परियोजना इकाईमा म कार्यरत छु । जनतालाई भुक्तानी नदिँदा जनताले मेरो खप्पर फुटाउने र कमिसन नदिए हाकिम झाले चेकमा हस्ताक्षर नगरिदिने स्थिति थियो । ८८ हजारको चेक लिन बाध्य भएर नगद १५ हजार दिएँ तर उनले मानेनन् । २१ हजार लिएरै छाडे ।’, वन अधिकृत यादवले भने, ‘मेरो बैंक खाताबाट उनको खातामा ६ हजार ट्रान्सफर गरिदिएँ पछि बल्ल चेकमा सही गरिदिए । गत साउन ७ गते राष्ट्रिय वाणिज्य बैंकमा रहेको मेरो खाताबाट उनको सिद्धार्थ बैंकमा रहेको खाता नं. ×××××१८३८०९ मा ६ हजार रकम पठाएको छु ।’ 

‘घुस नदिँदा भत्ताको पैसा पनि डुब्यो’
त्यस्तै, वन अधिकृत झाले यादवले हस्ताक्षर नगरिदिएकै कारण आफ्नो भत्ताबापतको रकम डुबेकोसमेत बताएका छन् । ‘मेरो भत्ताबापत पाउनुपर्ने रकमको पनि चेक काटिएको थियो । तर त्यो चेकमा सही गर्न ५० प्रतिशत कमिसन मागेपछि मैले दिन मानिन् । प्रमुख प्रशासकीय अधिकृत झाले चेकमा सही गरिदिएनन् । मेरो भत्ता डुब्यो ।’, यादवले भने, ‘ओभरसियर मनोज कुमार यादवले झनै १ लाख रुपैयाँ नगद बुझाएपछि सुपरभिजनमा रहेका योजनाहरुको भुक्तानी चेकमा हस्ताक्षर भएको थियो ।’

यता औरहीकै प्रताप कुमार यादवले रातको १ बजे ९८××××२४९५ नम्बरबाट ईसेवामार्फत १२ हजार रुपैयाँ झाको ईसेवामा रकमान्तर गरेपछि चेकमा हस्ताक्षर भएको थियो । त्यस्तै, औरहीमै रमानन्द यादवले पाउने भुक्तानीको ५ वटा चेक काटिएको थियो । तर, झाले मागेजति घुस दिन यादवले अस्वीकार गरेपछि उनकै अगाडि प्रमुख प्रशासकीय अधिकृत झाले सबै चेक च्यातेका थिए । 

प्रमुख प्रशासकीय अधिकृत झालाई कमिसन बुझाउनेहरुमा सव इन्जिनियर आनन्द यादव, इन्जिनियर दीपेन्द्र यादव, सव इन्जिनियर बीरेन्द्र कुमार सिंह, इन्जिनियर सुरेन्द्र कुमार यादव र गाउँपालिका अध्यक्ष शिवजी यादवका छोरा रुकेश यादव पनि छन् । उनीहरुले न्युनतम ५१ हजारदेखि ३ लाखसम्म प्रमुख प्रशासकीय अधिकृत झाको बैंक खातामा रकम जम्मा गरिदिएको तथ्यसमेत फेला परेको छ । इन्जिनियरहरुले आ-आफ्नो जिम्मामा रहेको साइटका उपभोक्ता समितिबाट पैसा उठाए झालाई घुस र कमिसन बुझाएको पनि खुलासा भएको छ ।

स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृत झाले भुक्तानी लिन बाँकी रहेकाहरुलाई कमिसनबापतको रकम लिएर जनकपुर आउनुपर्ने उर्दी नै जारी गरेका थिए । जनकपुरमा झाले पालिकाले भाडा तिर्ने गरी गोप्य रुपमा सेटलाइट कार्यालय स्थापना गरेका थिए । घुसबापतको रकम असुलीका लागि झाले सोही कार्यालय प्रयोग गर्दै आएका थिए । 

के भन्छन् प्रमुख प्रशासकीय अधिकृत झा ? 
घुस रकमका विषयमा प्रमुख प्रशासकीय अधिकृत झाले भने उक्त पैसा घुसको नभएर सापटीको भएको दाबी गरेका छन् । यद्यपि उनले आफ्नो बैंक खातामा रकम जम्मा गर्न लगाएको भने स्वीकार गरेका छन् । ‘बैंक खातामा रकम जम्मा गर्न लगाएको हो ।’, उनले भने, ‘त्यो घुस वा कमिसन लिएको होइन, मैले सापटी दिएको थिएँ, फिर्ता लिएको हो ।’ 

आर्थिक वर्षको अन्त्यमा अर्थात असार २८ गतेदेखि साउनको ८ गतेसम्म आधा दर्जन व्यक्तिसँग कैफियत महलमा सापटी फिर्ता लेख्न लगाएर रकम जम्मा गराउनु घुस वा कमिसन होइन भनेर प्रमाणित गर्न सक्नुहुन्छ त ? भन्ने प्रश्नमा उनले भने, ‘केही फरक पर्दैन । छानविन गर्नेले गरोस् । परेको बेहोर्न तयार छु ।’ घुसबारे थप कुरा बुझ्दा अरु कुरा आफ्नो व्यक्तिगत विषय भएको भन्दै झा बोल्न मानेनन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी