काठमाडौँ । भारतले नेपाली स्याटलाइट ‘मुनाल’ प्रक्षेपणमा आर्थिक सहयोग गर्ने भएको छ । ‘मुनाल’ स्याटलाइट प्रक्षेपणका लागि अनुदान सहयोग गर्नेबारे भारतीय विदेश मन्त्रालय र न्यू स्पेस इन्डिया लिमिटेड (एनएसआईएल) सम्झौतासमेत भएको छ ।
सम्झौता पत्रमा भारतको विदेश मन्त्रालयका तर्फबाट अनुराग श्रीवास्ताव र एनएसआईएलका तर्फबाट एनएसआईएलका निर्देशक अरुणाचलम एले हस्ताक्षर गरेका छन् ।
एक कार्यक्रमबीच गरिएको सम्झौताको अवसरमा नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का सचिव डा. रबिन्द्र प्रसाद ढकाल, नेपाली राजदूतावासका डा. सुरेन्द्र थापा र अन्तरिक्ष प्रतिष्ठान नेपाल (एपिएन)का संस्थापक डा. आभास मास्केको उपस्थिति रहेको थियो ।
यसअघि भारतीय विदेशमन्त्री एस.जयशंकरको सहभागितामा २०८० पुष १९ गते बसेको बैठमा नेपाल-भारतबीचको संयुक्त आयोग बैठकमा ‘मुनाल’लाई भारत सरकारको सहयोगमा प्रक्षेपण गर्ने सहमति भएको थियो ।
‘मुनाल’ नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले बताउको नेपाली स्याटलाइट हो । ‘मुनाल’को डिजाइन र निर्माणमा अन्तरिक्ष स्टार्टअप एपीएनको सहयोग रहेको छ । यस स्याटलाइटले पृथ्वीको सतहको वनस्पति घनत्वको डेटाबेस निर्माण गर्ने लक्ष्य राखिएको छ । ‘मुनाल’ स्याटलाइटलाई भारतीय विदेश मन्त्रालयले चाँडै प्रक्षेपण हुने अपेक्षा राखेको छ ।