काठमाडौं । साताको कारोबारको छैठौ दिन शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले बढेर उच्च बिन्दुमा पुगेको हो ।
बिहीबार प्रतितोला एक लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज तीन हजार रुपैयाँले बढेर एक लाख ५६ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ ।
अन्तरराष्ट्रिय बजारमा नै सुनको मूल्य निरन्तर मूल्य बढेकोले स्थानीय बजारमा पनि यसको असर देखिएको सुनचाँदी व्यवसायीहरुले बताएका छन् । यसअघि गत भदौ २५ गते सुनको मूल्यले रेकर्ड बनाएको थियो । उक्त दिन सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ४०० रुपैयाँ थियो ।
यता चाँदीको मूल्य ६५ रुपैयाँले बढेर प्रतितोला १८६० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ३४ हजार रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५९४.५० रुपैयाँ कायम गरेको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।