×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जडीबुटी बिक्रीबाटै मनग्य आम्दानी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जडीबुटी बिक्रीबाटै मनग्य आम्दानी

Artha Sarokar

७ कार्तिक २०८१, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । सङ्खुवासभाकी फुपुु पोङ्सुवा शेर्पाले जडीबुटी व्यवसायलाई मुख्य पेसा बनाएको झण्डै दुई दशक भयो । हिमाल र पहाडमा सङ्कलन भएका जडीबुटी बिक्री गर्न उनी लामो समयसम्म टाढा-टाढासम्म पनि पुगिन् ।
लामो समय तराईदेखि पहाडका विभिन्न स्थानमा डुल्दै जडीबुटी बिक्री गरेकी शेर्पाले अहिले भने इटहरी उपमहानगरपालिका-६ मा पसल नै सुरु गरेकी छिन् । जडीबुटीबाट राम्रो आम्दानी हुन थालेपछि उनी यतिबेला सङ्खुवासभा छाडेर धरान उपमहानगरपालिका-१५ मा बस्दै आएकी छिन् । ‘पहिले टाढाटाढासम्म पुग्दा पनि भने जस्तो आम्दानी हुँदैनथ्यो । तर अहिले यसको माग बढ्दो ।’, उनले भनिन्, ‘इटहरीको पसलबाट पनि राम्रो बिक्री भइरहेको छ ।’
सुरुवाती समयमा उनी जडीबुटी बिक्री गर्न धनकुटा, बर्दिबास, लालबन्दी, सिन्धुली र रामेछाप हुँदै काठमाडौँ र पोखरासम्म पुग्ने गर्थिन् । ‘सुरुका दिनमा विभिन्न जिल्ला घुम्दा पनि भने जस्तो आम्दानी हुँदैनथ्यो । तर अहिले भने अधिकतम मासिक एक लाख ५० हजारसम्म आम्दानी हुन्छ ।’, उनले भनिन्, ‘जडीबुटी बिक्रीबाट भएको आम्दानीले परिवारको खर्च र सन्तान पढाउन पुगेको छ ।’ उनले यसै आम्दानीबाट धरानको बगरकोटमा साढे दुई तलाको घर पनि बनाइसकेकी छिन् ।
उनले सङ्खुवासभा, सोलु भोटखोला, पश्चिमको रोल्पा, डोल्पा, खासादेखि सिक्किम, दार्जिलिङबाट समेत जडीबुटी ल्याउँछिन् । कहिले आफँै गएर त कहिले अर्डर गरेकै भरमा इटहरीमा जडीबुटी आइपुग्ने उनले बताइन् । उनको पसलमा यार्सागुम्बा, चिरैतो, पदमचाल, हर्बो, पाषणभेद, सतुवा, जेठी मधु, चिप्लेकिरा, बिखुमा, पुदिना, रिठ्ठा, टिम्मुरलगायत तीन सयभन्दा बढी जडीबुटी बिक्रीका लागि राखिएको छ ।
जडीबुटी बिक्रीको अनुमति लिइसकेपछि भने निक्कै सहज भएको उनको भनाइ छ । त्यसमाथि बर्सेनि नगरपालिकाले औषधि व्यापारसम्बन्धी तालिम समेत दिने गरेको छ । तालिमले गर्दा आफूलाई यसबारे थप ज्ञान हासिल भएको समेत उनले बताएकी छिन् ।
शेर्पा जस्तै धरान-८ का आचुङ्मा भोटे इटहरी-६ को टेङ्ग्रा खोला नजिकै खुला आकाशमुनी पारिलो घाममा जडीबुटी बिक्री गर्दै गर्दा भेटिए । उनी पनि जडीबुटी व्यवसायमा लागेको झण्डै दुई दशक हुन लाग्यो । पछिल्लो समय जडीबुटीबाट आम्दानी राम्रो भएको उनले सुनाए । पुख्र्यौली घर सङ्खुसभा भएका उनी जडीबुटी व्यापारकै लागि १५ वर्षअघि धरान झरेको सुनाए । ‘सुरुवाती दिनमा हिमालका जडीबुटी तराई झरेर बिक्री गरी उतै फर्किन्थ्यो । त्यो समयमा अस्पतालको सहज पहुँच नहुँदा बिरामी हुँदा धेरैका लाग जडीबुटीको विकल्प थिएन ।’, उनले भनिन्, ‘पछिल्लो समय फेरि यसको माग बढेको छ ।’ पुर्खाले समेत यही व्यापार गरेकाले आफूले पनि यही पेसा अपनाएको उनको भनाई छ ।
उनले जडीबुटी बिक्रीबाट मासिक रु ६० हजारभन्दा बढी आम्दानी हुने गरेको सुनाए । ‘अहिले जडीबुटीप्रति धेरैको विश्वास बढ्दै गएको छ, काठमाडौँ, विराटनगर, मोरङ, झापालगायतका ठाउँहरुबाट समेत फोन गरेर जडीबुटी अर्डर गर्नुहुन्छ ।’, उनले भने, ‘पहिले जडीबुटीले पनि रोग निको हुन्छ र ? भन्नेहरु पनि अहिले जडीबुटी किन्न थालेका छन् ।’
इटहरीको पूर्वको हटिया खोला किनारमा जडीबुटीको व्यापार गर्दै आएका धरानका दावा शेर्पा पनि १० वर्षदेखि यही पेसामा छन् । उनले भने, ‘जडीबुटी बिक्रीबाटै परिवार राम्रोसँग चलेको छ, दैनिक रु पाँच हजारदेखि १० हजार व्यापार हुन्छ ।’ त्यस्तै, शेर्पाले पनि नेपालका विभिन्न ठाउँ र भारतबाट समेत जडीबुटी आउने गरेको सुनाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी