काठमाडौँ । पछिल्लो एक महिनामा देश छोड्ने नेपालीहरुको संख्याले ‘रेकर्ड ब्रेक’ गरेको छ । देशले देशमा केही गर्ने अवसर दिएन भन्दै विदेशिनेहरुको संख्या वर्षेनी बढिरहेको बेला मंसिर महिनामा हालसम्मकै धेरै नेपालीहरु विदेशिएका हुन् ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार मंसिर महिनामा मात्रै ८४ हजार २ सय २६ जना नेपालीहरुले देश छोड्न अनुमति लिएका छन् ।
यसअघि २०७९ कार्तिकमा सबैभन्दा धेरै नेपालीहरुले देश छोडेका थिए । त्यसबेला नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ७८ हजार ३ सय ७० रहेको थियो । जुन चालु आर्थिक वर्षको मंसिर महिनाको भन्दा ६ हजारले कम हो ।
विभागको तथ्यांक अनुसार मंसिर महिनामा म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जान २८ हजार ८ सय ६८ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । त्यस्तै, बिदामा आएर पुनः फर्किनका लागि ४१ हजार ३ सय २० जनाले श्रम स्वीकृति लिएका छन् । साथै व्यक्तिगत भिसा आएपछि अन्तिम श्रम स्वीकृति लिनेको संख्या १३ हजार ५९ छ भने जीटूजीमार्फत ९ सय ७९ जनालो अन्तिम श्रम स्वीकृति लिएका छन् ।
मंसिर महिनामा रोजगारीमा लागि विदेश जानेहरुमा अधिकांश खाडी मुलुक गएको विभागले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै नेपालीहरु रोजगारीका लागि यूएई गएका छन् ।