काठमाडौँ । वाणिज्य बैंकहरुले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको ब्याजदर अनुसार माघमा अधिकांश बैकले पुष महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
औसतमा माघ महिनाका लागि वाणिज्य बैंकहरुमा मुद्दती निक्षेपको ब्याजदर ०.०३ प्रतिशत बिन्दुले घटेर ६.०२९ प्रतिशतबाट ६.००१ प्रतिशतमा झरेको छ ।
२० वाणिज्य बैंकमध्ये १७ वाणिज्य बैंकहरुले माघमा व्यक्तिगत मुद्दती निक्षेपमा पुषकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बाँकी रहेका तीनमध्ये दुई वाणिज्य बैंक (एसबिआई बैंक र कृषि विकास बैंक) ले ब्याजदर घटाएका छन् भने लक्ष्मी सनराइज बैंकले भने ब्याजदर बढाएको छ ।
एसबिआई बैंकले माघमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशतबाट घटाएर ५.५ प्रतिशतमा झारेको छ । कृषि विकास बैंकले भने ५.५७ प्रतिशतबाट ५.५१ प्रतिशतमा झारेको छ ।