काठमाडौँ । हेटौँडा सिमेन्ट उद्योगमा संकटग्रस्त अवस्थामा पुगेको छ । पछिल्लो तीन महिनादेखि उत्पादन बन्द रहेको उद्योग संकटग्रस्त अवस्थामा पुगेको हो ।
गत असोज १५ गतेदेखि उत्पादन बन्द रहेको उद्योगले मंसिरबाट उत्पादन सुरु गर्ने बताए पनि अझैसम्म उद्योगले उत्पादन सुरु गरेको छैन । उद्योगमा बिग्रिएका उपकरणको मर्मत काम नसकिएकोले उत्पादन सुरु हुन नसकेको उद्योगले जनाएको छ ।
तर, उद्योगकै पदाधिकारीहरु भने आर्थिक संकट झनझन् बढ्दै गएपछि उत्पादन सुरु गर्ने विषयमा अन्यौलता रहेको बताउँछन् । यसो त अहिले उद्योगको उत्पादन मात्रै बन्द छ ।
त्यसबाहेक उद्योगले कर्मचारीलाई तलबभत्ता, इन्धन र सामान्य मर्मत लगायतका काममा खर्च गरिरहेको छ । यसले उद्योगमाथिको आर्थिक भार झनै बढाएको छ । उद्योग प्रशासनका अनुसार हेटौँडा सिमेन्ट उद्योगमा हाल एक सय ६६ जना स्थायी र दैनिक ज्यालादारीमा काम गर्ने एक सय ५२ जना सुरक्षाकर्मी गरी कुल ३ सय १८ जना कर्मचारी छन् ।
आर्थिक संकटकै कारण उद्योगले आवश्यक कच्चा पदार्थ (कोइला) आयात गर्न पनि सकिरहेको छैन । अर्कोतर्फ आर्थिक संकटकै कारण विद्युत् महसुल तिर्न नसकेको उद्योगमाथि नेपाल विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता पनि झनझन् थपिँदै गएको छ । हालसम्म उद्योगले प्राधिकरणलाई करिब ४० करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ । वि.सं. २०३३ सालमा स्थापना भएको उक्त उद्योगले विसं. २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।