काठमाडौँ । अमेरिकाबाट देश निकाला हुने नेपालीको संख्या ३७ पुगेको छ ।
बुधबार बिहान मात्रै अमेरिकाले चार्टर विमानमार्फत ८ जना नेपालीलाई काठमाडौँ ल्याएर छोडिदिएको छ । यसरी अमेरिकाले नेपाल ल्याएर छोडेकाहरुमा एक जना महिला र सात जना पुरुष छन् ।
कागजात बिना अवैध रुपमा अमेरिकामा बस्दै आएका उनीहरुलाई अमेरिकाले चार्टर विमानमार्फत नेपाल ल्याएको हो । उक्त विमान बुधबार बिहान १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
उक्त विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तराष्ट्रिय विमानस्थलबाट काठमाडौँ आएको हो । योसँगै अवैध रुपमा अमेरिकामा बस्दै आएका आप्रवासी निष्कासन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति अनुसार देश निकाला हुने नेपालीको संख्या ३७ पुगेको छ । नेपालीलाई लिएर आएको अमेरिकी विमानले नेपालबाट अमेरिकी नागरिक लिएर जानेछ ।
हाल नेपाल ल्याइएकाहरुलाई भने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाएको छ ।