काठमाडौँ । इसेवा सबैभन्दा ‘रिस्की’ डिजिटल वालेट बनेको छ । हप्तामै ३-४ पटक बिग्रिने र खाताबाटै ग्राहकको पैसा गायब हुने क्रम बढेपछि इसेवा सबैभन्दा ‘रिस्की’ वालेट बनेको हो ।
स्वयम् इसेवाका कर्मचारीहरुले पनि इसेवा सोचेजति सुरक्षित नभएको तर्क गरेका छन् ।
यसअघि इसेवाले हप्तामै ४ पटकसम्म बिग्रिएर रेकर्ड बनाएको थियो । त्यसअघि पनि इसेवामा थुप्रैपटक समस्या देखिसकेको थियो । तर, हरेक पटक सामान्य प्राविधिक समस्या भन्दै आएको इसेवामा पछिल्ला दिन भने गम्भीर प्रकृतिका समस्या देखिन थालेका छन् ।
सोमबार त इसेवा प्लेटफर्म नै करिब २ घण्टा डाउन भएको थियो । त्यसबेला अधिकांश इसेवा प्रयोगकर्ताको इसेवा आफैँ लगआउट हुने, नखुल्ने, खुले पनि लगइन नहुने, ब्यालेन्स ‘जिरो’ देखाउने लगायतका समस्या देखिएको थियो । यद्यपि हाल भने उक्त समस्या समाधान भएको छ । तर, पनि अझै भुक्तानीमा समस्या देखिएको प्रयोगकर्ताहरुले गुनासो गरेका छन् ।
यसो त बिग्रिरहने इसेवाले इसेवामा देखिने समस्यालाई सामान्य समस्या भने पनि इसेवाको सिस्टममा भित्रभित्रै निकै ठूलो प्राविधिक समस्या देखिएको जानकारहरुले बताएका छन् । स्वयम् इसेवाकै कर्मचारीहरुले पनि यो कुरा स्वीकारेका छन् । इसेवामा देखिएको यस्तो समस्याका कारण ग्राहकको रकम हराउने, व्यक्तिगत विवरण लिक हुने जस्ता जोखिम आउन सक्ने जानकारहरुको भनाई छ । यही कारण पनि अन्य डिजिटल वालेटहरुको तुलनामा इसेवा ‘रिस्की’ देखिएको प्रविधि विज्ञहरुले दाबी गरेका छन् ।