काठमाडौँ । पेट्रोलको मूल्य घटेसँगै काठमाडौँका अधिकांश पेट्रोल पम्प बन्द गरिएको पाइएको छ । पेट्रोलको मूल्य घट्दा घाटा भएको भन्दै अधिकांश पेट्रोल पम्प बन्द गरिएको पाइएको हो ।
मूल्य घट्ने पूर्व जानकारी नदिई पेट्रोलको मूल्य घटाएको भन्दै रिसाएका व्यवसायीहरुले काठमाडौँका अधिकांश पेट्रोल पम्प बन्द गरेका हुन् । यसअघि पेट्रोलको मूल्य बढ्दा भने व्यवसायीहरुले अघिल्लो दिन नै पेट्रोल पम्प भर्ने गरेका थिए । अहिले भने पेट्रोल पम्पहरुमा पेट्रोल नभएको बहाना बनाएर ‘पेट्रोल छैन’, ‘ बन्द’ लगायतका पर्चा समेत टासिएको छ ।
नेपाल आयल निगमले शनिबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलको मूल्य घटाएको हो । पेट्रोलको मूल्य ५ रुपैयाँले घटेको छ भने डिजेल र मट्टीतेलको मूल्य पनि ४ रुपैयाँले घटेको छ ।
मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ६० रुपैयाँ ५० पैसा, एक सय ६२ रुपैयाँ र एक सय ६३ रुपैयाँ तथा डिजेल-मट्टितेल प्रतिलिटर एक सय ४८ रुपैयाँ ५० पैसा, एक सय ५० रुपैयाँ र एक सय ५१ रुपैयाँ कायम भएको छ ।