काठमाडौँ । नेपाली काँग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौँले राईलाई शनिबार नै पक्राउ गरेको हो ।
राईलाई पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी परिसर काठमाडौँले संघीय संसद सचिवालयमा जानकारी गराइसकेको छ ।
प्रहरीका अनुसार राईलाई शनिबार साँझ कपनस्थित उनकै घरबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई काठमाडौँको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतले सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भए पनि उनी लामो समयदेखि सम्पर्कविहीन थिइन् । राईसहितका व्यक्तिले सहकारीका ६ सय ९० जना बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४ सय ९३ रुपैयाँ हिनामिना गरेको आरोप छ । उनी नेपाली काँग्रेसकी समानुपातिक सांसद हुन् ।