काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजिनामा स्वीकृत गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री पौडेलले राष्ट्र बैंकका कामु गभर्नर निलम तिम्सिना ढुंगानालाई भट्टले दिएको राजिनामा स्वीकृत गर्न निर्देशन दिएका हुन् ।
नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलमा भट्टलाई गभर्नर बनाउने सहमति भएको खबर बाहिरिएपछि भट्टले राष्ट्र बैंकबाट राजिनामा दिएका थिए । तर, भट्टको राजिनामा हालसम्म पनि स्वीकृत भएको छैन ।
गभर्नर बन्ने पक्काजस्तै भएपछि गभर्नर बन्न योग्यता नपुग्ने भन्दै भट्टविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ । सोही मुद्दालाई देखाउँदै एमालेले गभर्नर नियुक्ति प्रक्रियामा ढिलाई गरिरहेको थियो भने कामु गभर्नर ढुंगानाले राजिनामा स्वीकृत गरेकी थिइनन् । अर्कोतर्फ ढुंगाना आफैँमा गभर्नरको आकांक्षी हुन् । भट्टको राजिनामा स्वीकृत नहुनुमा यो पनि अर्को कारण हुनसक्ने आशंका गरिएको छ ।
यद्यपि अर्थमन्त्रीले नै निर्देशन दिएपछि अब भने भट्टको राजिनामा स्वीकृत हुनसक्ने अर्थ मन्त्रालय स्रोतले बताएको छ । अर्कोतर्फ शुक्रबार साँझ भएको देउवा-ओली भेटमा भएको सहमतिपछि अर्थमन्त्रीले यस्तो निर्देशन दिएको चर्चा पनि राजनीतिक वृत्तमा छ ।
छलफलमा गभर्नरका विषयमा छलफल भए पनि कसलाई बनाउने भन्ने ? खुलाइएको छैन । यद्यपि भट्टको राजिनामा स्वीकृत गराएर काँग्रेसले भने बमोजिम भट्टलाई नै राष्ट्र बैंकको गभर्नर बनाउने सहमति भएको चर्चा पनि चलेको छ ।