काठमाडौँ । नेपाल प्रहरीको वेबसाइट नै ह्याक भएको पाइएको छ । ‘काजु’ नामक ह्याकर समूहले नेपाल प्रहरीको आधिकारिक वेबसाइट ह्याक गरेको पाइएको हो ।
नेपाल प्रहरीको साइट ह्याक गरेर नागरिकको डाटा चोरी गरेको ‘काजु’ नामक ह्याकर समूहले २० लाख भन्दा धेरै नागरिकको संवेदनशील डाटा बिक्रीमा राखेको छ । उक्त समूहले बिक्रीमा राखेको उक्त संवेदनशील डाटाको मूल्य ७ हजार अमेरिकी डलर तोकेको छ । ह्याकरले ‘लिक’ भएको डाटा सन् २०२५ कै भएको बताएको छ ।
डाटा बिक्रीको सूचना पोष्ट गर्दै उक्त ह्याकर समूहले नेपाल प्रहरीको केन्द्रीय रेकर्ड पोर्टललाई मुख्य निशाना बनाएको उल्लेख गरेको छ । उक्त सूचनामा ह्याकर समुहले नेपाल प्रहरीको आधिकारिक वेबसाइटको यूआरएल पनि उल्लेख गरेको छ ।
त्यस्तै, ह्याकरले बिक्रीमा राखिएका डाटाहरुमा २० लाख बढी नेपाली नागरिकको फोटो, नागरिकता, पासपोर्ट र पर्सन आइडेन्टी फिकेशन इन्फरमेशनहरु भएको दाबी गरेको छ । तर, नेपाल प्रहरीले भने ह्याकरले चोरी गरेको भनिएका डाटाहरु नेपाल प्रहरीको नभएको दाबी गरेको छ । यद्यपि नेपाल प्रहरीको वेबसाइट ह्याक भएको र डाटा चोरी भएको स्रोतको दाबी छ । हाल ह्याकरले चोरी भएको दाबी गर्ने विवरण र नेपाल प्रहरीको वेबसाइटमा भएका विवरण ‘म्याचिङ’ गर्ने काम भइरहेको प्रहरी स्रोतले बताएको छ ।