काठमाडौँ । नेपालको सबैभन्दा बढी समस्या आउने डिजिटल वालेट इसेवा सोमबार ह्याकरले केही समय कब्जा गर्दा प्रयोगकर्ताको १० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म गायब भएको पाइएको छ । सोमबार दिउँसोदेखि समस्या आएको इसेवाबाट प्रयोगकर्ताको रकम चोरिएको हो ।
इसेवामा दिउँसोदेखि समस्या देखिए पनि कम्पनीले यश विषयमा सामान्य जानकारीसमेत प्रयोगकर्तालाई दिएको छैन । यस अघि इसेवाको सेवामा समस्या आउँदा कम्पनीले प्रयोगकर्तालाई जानकारी दिने गरेको थियो । तर, समस्या आउने क्रम नरोकिँदा चौतर्फी गाली खान थालेपछी इसेवाले जानकारी दिने क्रम रोकेको थियो ।
कुल कति प्रयोगकर्ताको कति रकम गोलमाल भयो भन्ने यकिन नभएको इसेवाका कर्मचारीहरु बताउँछन् । इसेवाले प्रयोगकर्ताको पैसा हराएको चौतर्फी गुनासो आएपछि गुनासो सुन्ने नम्बर उठाउन समेत छोडेको छ ।
इसेवा बिग्रने रफ्तार बढेपछि अहिले इसेवा अनस्टल गर्नेहरुको संख्या बढेको छ । सोमबार मात्र इसेवा एक लाख बढिले अनस्टल गरेको देखिएको इसेवाका प्राविधिकहरुको दाबी छ । यधपि यस विषयमा बुझ्न सम्पर्क गर्न खोज्दा इसेवाका सिइओ जगदिश खड्का सम्पर्कमै आउन चाहिरहेका छैनन् ।
इसेवा बिग्रने क्रमले दिनानुदिन नयाँ रेकर्ड राख्दा इसेवा दक्षिण एशियाकै सबैभन्दा बढी बिग्रने दिजिटल मोबाइल वालेट बनेको छ । बारम्बार बिगृरहेपछि इसेवामा मोबाइल बैंक खाता लिंक गर्नेहरुको खाताबाट सबै पैसा ह्याक हुने जोखिमसमेत बढेको छ । यश अघि इसेवाकै माउ कम्पनी एफ वान सफ्टको बैंक खाताबाट करोडौँ रुपैँया ह्याक भएको थियो । सो रकम अहिलेसम्म फिर्ता भएको छैन ।
इसेवामा समस्या देखिएपछि अन्य मोबाइल वालेटमा भने चाप बढेको छ । इसेवामा पैसा राख्न निकै ठुलो जोखिम देखेपछि अहिले प्रयोगकर्ता आइएमई पे, खल्ती जस्ता डिजिटल वालेटमा झुम्मिएका छन् ।