काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट भाषण सकिए लगत्तै प्रतिपक्षी दलले संसद्मा अवरोध गर्ने तयारी गरेका छन् ।
आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट भाषणका लागि मात्र संसद्को अवरोध रोकेका प्रतिपक्षी दलले बजेट भाषण सकिने बितिकै अवरोध गर्ने तयारी गरेका हुन् ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमान (बजेट) प्रस्तुत गरेर सकिने बितिकै संसद्मा अवरोध गर्ने तयारी रहेको माओवादीका एक सांसदले बताए ।
ती सांसद्का अनुसार संसद् बैठकमा अवरोध गर्दै भिजिट भिसा प्रकरणमा नाम मुछिएका गृहमन्त्री रमेश लेखकको राजिनामा मागिनेछ । त्यसलाई माओवादीका सांसदहरुले भ्रष्टाचारविरुद्धको संघर्ष भनेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका सांसद हितराज पाण्डेले बजेट भाषणमा कुनै अवरोध नगर्ने तर बजेटपछि संसद्का सबै कारवाही चल्न नदिने बताएका छन् ।