काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राज्यले खेल क्षेत्रमा छुट्याएको बजेट थोरै भएको बताएका छन् । उनले खेल क्षेत्रमा अझै धेरै बजेटको व्यवस्था गर्नुपर्ने भन्दै हालको बजेट थोरै भएको बताएका हुन् ।
खेल क्षेत्र शारीरिक स्वास्थ्यमा मात्रै सीमित नरहेको भन्दै प्रचण्डले सामाजिक सभ्यता, अनुशासन, देशको पहिचान र प्रतिष्ठासँग जोडिएको बताएका छन् । उनले मुलुकको आर्थिक समृद्धिको लागि पनि खेल क्षेत्रको भूमिका र महत्व बढ्दै गएको बताएका छन् ।
राज्यले खेल क्षेत्रलाई अझ बढी बजेटको व्यवस्था गर्नुपर्ने र खेलाडीहरुको भविष्यप्रति गम्भीर र सजग हुनुपर्ने प्रचण्डको भनाई छ । उनले खेल क्षेत्रमा नेपालले निरन्तर प्रगति गरिरहेको भन्दै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पदकहरुको समेत वर्षा भइरहेको जिकिर गरेका छन् ।
‘खेल क्षेत्रमा अहिले केही समयदेखि निरन्तर नेपालमा प्रगति भइरहेको छ र राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पदकहरुको एक किसिमले भन्ने हो भने वर्षा नै भएको छ । स्वर्ण पदकदेखि विभिन्न स्तरका पदकहरु नेपाली खेलाडीहरुले जित्दै गएका छन् । त्यसको मात्रा र गुण दुवैमा वृद्धि भएको छ ।’, उनले भने, ‘यो क्षेत्रलाई अझ बढी महत्व दिनुपर्ने र सबैभन्दा बढी त राज्यले खेल क्षेत्रलाई अझ बढी बजेटको व्यवस्था, अझ बढी व्यवस्थापन गर्ने र खेलाडीहरुको भविष्य खेल क्षेत्रमा लाग्ने सबैको भविष्यप्रति बढी संवेदनशिल र गम्भीर हुन जरुरी छ ।’