काठमाडौँ । अमेरिकी ट्रेडिङ फर्म जेन स्ट्रिट ग्रुप एलएलसीलाई भारतीय सेयर बजारमा प्रतिबन्ध लगाइएको छ । सेक्युरिटिज एण्ड एक्सचेञ्ज बोर्ड अफ इन्डिया (सेबी)ले उक्त कम्पनीमाथि प्रतिबन्ध लगाएको हो ।
योसँगै सेबीले १०५ पृष्ठको अन्तरिम आदेशमार्फत उक्त कम्पनीबाट ४८.४ अर्ब भारतीय रुपैयाँ (५७ करोड डलर) जफत गर्ने पनि बताएको छ ।
सो रकम जेन स्ट्रिट ग्रुपले अवैध रुपमा कमाएको सेबीले ठहर गरेको छ । साथै सेबीले उक्त ग्रुपका इकाईहरुलाई सेयर बजारमा प्रतिबन्ध लगाउँदै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धितोपत्र खरिद, बिक्री वा कारोबार गर्न निषेध गरेको छ ।
त्यस्तै, ग्रुपका इकाईहरुले व्यक्तिगत वा संयुक्त रुपमा राखेका बैंक खाताबाट अनुमतिबिना कुनै पनि डेबिट गर्न नपाउने सुनिश्चित गर्न सेबीले भारतीय बैंकहरुलाई निर्देशन दिएको छ । उक्त अमेरिकी फर्मले भारतीय सेयर बजारमा चलखेल गरेको आरोपपछि सेबीले उक्त ग्रुपको कारोबारमाथि अनुसन्धान गरिरहेको छ ।