काठमाडौँ । पूर्व अर्थमन्त्री वर्षमान पुनले मौद्रिक नीति धेरै लचिलो ल्याउन नहुने बताएका छन् । विगतमा साह्रै लचिलो मौद्रिक नीति ल्याएकै कारण त्यसको असर अहिलेसम्म परिरहेको भन्दै उनले मौद्रिक नीति धेरै लचिलो हुन नहुने बताएका हुन् ।
‘मौद्रिक नीति बढी लचिलो नहोस् । विगतमा लचिलो ल्याइएका कारण अहिलेसम्म असर परिरहेको छ ।’, अर्थ समितिको बैठकमा बोल्दै पुनले भने, ‘मौद्रिक नीतिले नियमनको पक्षलाई जोड दियोस् । सरकारले स्टार्टअपलाई जोड दिँदै आएको छ । मौद्रिक नीतिले पनि त्यता फोकस गरोस् ।’
त्यस्तै, पूर्वअर्थमन्त्री पुनले वित्त नीति संकुचित भएकाले मौद्रिक नीति संयमित तवरले ल्याउनुपर्नेमा जोड दिएका छन् । उनका अनुसार पछिल्लो समय वित्त नीतिमा आएको संकुचनका कारणले आवधिक योजनामा राखिएको लक्ष्य भन्दा पनि बजेट कम हुँदै आएको छ ।
अर्कोतर्फ नयाँ गभर्नर आएपछि निजी क्षेत्रले डिपार्चर होस् भन्ने चाहेको पनि पुनले बताएका छन् । उनले डिपार्चर हुनपर्ने तर संयमता गुमाउन नहुने पनि बताएका छन् । पुनका अनुसार मौद्रिक नीतिले सरकारका नीतिहरुलाई सपोर्ट गर्नुपर्छ । मौद्रिक नीति खुकुलो, सन्तुलित र समग्र अर्थतन्त्रलाई चलायमान गर्ने खालको आउनुपर्नेमा पुनले जोड दिएका छन् ।