काठमाडौँ । निर्माण सुरु भएको लामो समय बित्दा समेत दाउन्ने-बुटवल सडकखण्ड फराकिलो बनाउने कार्य पूरा हुन नसक्दा नागरिकले सास्ती खेप्नुपरेको छ । राजमार्ग हुँदै आवतजावत गर्ने यात्रुहरु कष्टकर यात्रा गर्न बाध्य छन् भने राजमार्गको छेउछाउमा व्यवसाय गर्नेहरु बर्खामा हिलो र हिउँदमा धुलो धुवाँले प्रभावित बनेका छन् ।
त्यति मात्रै होइन, राजमार्गका होटलहरुमा चहलपहल समेत ह्वात्तै घटेको छ । सडककै कारणले विगतको तुलनामा आधा भन्दा बढि व्यापार घटेको व्यवसायीहरुले बताएका छन् ।
दाउन्ने सडकको छेवैमा होटल चलाएर यात्रुलाई खाना खुवाउँदै आएका पदमबहादुर पोखरेलले विगत पाँच/सात वर्षदेखि धुलो/धुवाँ प्रदुषण झेल्नुपरेको बताए । उनले बाटोकै कारण व्यापार चौपट भएको पनि बताएका छन् । ‘बाटो निर्माणको काम समयमै नसकिँदा अहिले यो बाटो गाडीहरु चल्नै छाडेका छन् ।’, उनले भने, ‘पहिला होटलमा गनिसाध्यै नहुने गरी मान्छे आउँथे । अहिले सडककै कारण होटलमा मान्छे नै आउँदैनन् ।’
बाटोकै कारण हाल व्यवसायी पलायन हुने अवस्था आएको भन्दै उनले छिटो भन्दा छिटो सडक निर्माणको काम सक्नुपर्ने बताएका छन् ।
यता निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल निर्माणको काम भइरहे पनि तिव्र हुन नसक्नुमा व्यवसायीको आ-आफ्नै समस्या रहेको बताएका छन् । उनले निर्माणको काम समयमै नहुनुमा राज्य मुख्य दोषी रहेको बताएका छन् । ‘राज्यले गर्नुपर्ने सम्पूर्ण काम नगरिदिँदा व्यवसायी अझ समस्या फसेका हुन् ।’, उनले भने, ‘सम्पूर्ण निर्माण कार्य ढिला भएको छ र नागरिकलाई गाह्रो परेको हो ।’