काठमाडौँ । ऋणीसँग घुस असुलेको घटना सेलाउन नपाउँदै राष्ट्रिय बाणिज्य बैंकमा अर्को काण्ड बाहिर आएको छ । बैंकले कार्यादेश दिएर प्रकाशन भएका सूचना तथा विज्ञापनको भुक्तानी कर्मचारीकै बदमासीका कारण महिनौंसम्म होल्ड भएको पाइएको छ । बैंकमा विभागीय प्रमुख रहेका कर्मचारीले गरेको बदमासीका कारण रकम महिनौंसम्म होल्ड भएको पाइएको हो ।
घटना के हो ?
२०८० साल चैत्रमा बैंकले एक संचारगृहलाई बैसाख, जेठ र असार महिनाको विज्ञापन प्रकाशनका लागि कार्यादेश दियो । सो विज्ञापन प्रकाशनको बैसाख महिनाको बिल जेठ महिनामा लैजाँदा बैंकको मार्केटिङ विभागले असार सकिएपछि एकैपटक साउन दोश्रो सातामा बिल ल्याउन भन्यो । सोहि अनुसार सो विज्ञापनको बिल साउन महिनामा लैजाँदा बैंकले बिल राख्यो । तर महिनौंसम्म सो बिलको भुक्तानी भएन । संचारमाध्यमले पटक पटक फलोअप गर्दा पनि बिलको भुक्तानी नआएपछि यसबारे बैंकमै पुगेर चासो राखे । सीइओको तोक आदेशमै दिईएको कार्यादेश अनुसारको काम सकिएर बिल पेश गर्दा पनि किन भुक्तानी भएन भनेर बुझ्दा बैंकको सीइओ सचिवालयमा रहेका एक कर्मचारीले असारसम्ममा बिल नआईपुगेकाले बिलको भुक्तानी नभएको र नहुने बताए ।
‘बैसाखको बिल जेठमा लैजाँदा ३ महिनाको बिल भएकाले एकैपटक साउनमा बिल ल्याउन भनियो । पछि भुक्तानी माग्दा असार पछि आएको बिल भुक्तानी नहुने भनियो । अव यसबाट हामीले के बुझ्ने ?’ ती संचारमाध्यमका संचालकले भने, ‘फलोअप गर्दा एक पटक भेटौं न अनि सल्लाह गरौंला भनियो । गरिसकेको कामको भुक्तानी लिन किन सल्लाह गर्नुपर्यो ? अझ, ल भुक्तानी नै नहुने भए त्यसको जानकारी किन दिईएन ?
सचिवालयका कर्मचारी र विभागीय प्रमुखको मत नै बाझियो !
अहिलेका विभागीय प्रमुख दिनेश गौतम पहिलाका प्रमुखले दायित्व बुक नगर्दा थुप्रै मिडियाहरु पिडीत भएको स्वीकारे । ‘बैंकबाट कार्यादेश पनि गएको छ । विज्ञापन प्रकाशन पनि भएको छ, सबै कागजसहित बिल पनि आएको छ । सबै प्रक्रिया पूरा भएपछि भुक्तानी कुनै हालतमा हुनुपर्छ । तर, कर्मचारीले नै दायित्व बुक नगर्दा समस्या भएको छ ।’ गौतमले अर्थ सरोकारसँग भने, ‘यो रकम भुक्तानी हुनुपर्छ । गल्ती बैंकबाट भएको हो, मिडियाबाट होइन ।’ गौतमले यस्तो घटना बैंकआमा थुप्रै भएको र क्रमश: ती मिडियाको भुक्तानी प्रक्रिया अगाडी बढेको बताउँछन् । ‘कार्यादेश दिईसकेपछि, काम सकिसकेपछि रकम भुक्तानी नगर्ने भन्ने हुँदैन । बिल साउनमा आउनु ठुलो कुरै होइन । तर दायित्व बुक नगरिनु भने गल्ती भयो ।’ उनले अर्थ सरोकारसँग भने ।
यता सीइओ सचिवालयका कर्मचारी मुराहरी अधिकारीले भने साउनमा बिल आएकाले भुक्तानी नगरिएको दाबी गरे । ‘असार मसान्तको राती १२ बजेसम्म त विज्ञापन नै अनलाइनमा राख्नु भनिएको छ, अनि असार मसान्तमा कसरी बिल आउँछ ? त्यसमाथि बैसाखको बिल जेठमा ल्याउँदा बिल फर्काइएको छ, अनि अहिले आएर निहुँ खोज्न पाइन्छ ?’ भन्ने प्रश्नमा अधिकारीले फेरी भने, ‘होइन, राष्ट्रिय बाणिज्य बैंकको आफ्नै नियम छ, असारसम्मको बिल असार मै आउनुपर्छ ।’
यता बैंकका पूर्व सीइओ किरण श्रेष्ठले पनि काम गरिसकेकाले र प्रमाणसहित बिल पेश भएकाले रकम भुक्तानी गर्नुपर्ने बताए । ‘असारसम्म त काम नै भयो । साउनमा बिल पुगेपनि सो रकम भुक्तानी हुनुपर्छ । कार्यादेश दिएपछि त्यसको दायित्व बुक गरिएको हुन्छ । बिल साउनमा आउँदा पनि भुक्तानी हुनुपर्छ ।’ श्रेष्ठले भने । पछिल्लो केसमा श्रेष्ठले नै तोक लगाएर पठाइएको विज्ञापनमा यस्तो केस घटेको हो ।
बैंकका सीइओ देवेन्द्र रमण खनालले पनि काम सकिसकेको केसमा बैंकले भुक्तानी रोक्न नमिल्ने बताए । ‘बैंकले कार्यादेश पनि दिएको छ र काम पनि भएको छ भने बिलको भुक्तानी रोकिने कुरै हुँदैन । कुन केसमा यस्तो भएको हो, विवरण मलाई पठाउनुहोला, म हेर्छु ।’ सीइओ खनालले भने ।
कार्यादेशमा तोक लगाउने तत्कालीन सीइओ श्रेष्ठ, हालका विभागीय प्रमुख दिनेश गौतम र स्वयम् हालका सीइओ खनालले समेत सो रकमको भुक्तानी हुनुपर्ने बताउँदा सीइओका सचिवालयका कर्मचारीले सो रकम भुक्तानी नहुने बताउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सो बिलबारे बुझ्दा फाइनान्स विभागबाट रकम भुक्तानी साउन महिनामा बिल आएकै कारण नभएको भन्दै सन्देश उनै अधिकारीले ल्याएका थिए ।
यता थुप्रै मिडियाकर्मीहरुले भने सरकारी बैंकका कतिपय कर्मचारीहरुले खुलेआम घुस माग्ने गरेको गुनासो गरेका छन् । घुस नदिँदा अनेक बहानामा रकम भुक्तानी होल्ड गर्ने लगायतका काम हुने उनीहरुको आरोप छ । ‘सुरुमा आफैं फलानो मितिमा बिल ल्याउन भनिन्छ, त्यसपछि मिति सकियो भनिन्छ । राष्ट्रिय बाणिज्य बैंकले निहुँ खोजेको कि घुस ? बुझ्नै सकिएको छैन।’ एक मिडिया संचालक भन्छन्, ‘हदै भएपछि हामीले सो बैंकको विज्ञापन प्रकाशन नै गर्न छोडिसक्यौँ ।’ केहि समय अगाडी मात्र राष्ट्रिय बाणिज्य बैंकका मेनेजरले ऋणीसँग घुस मागेको प्रमाणित भएको थियो ।













