म प्रशंसा घिमिरे । मेरो जन्म नुवाकोटमा भएको हो । मेरो बाल्यकाल पनि नुवाकोटको गाउँले परिवेशमा नै बित्यो । हरियाली परिवेश , चराको चिरबिर र निस्वार्थपनले भरिएको गाउँले जीवन नै मेरो सुरुवाती चेतनाको निर्माणका कारक बने । आफन्तको माया, छिमेकीको न्यानो साथ र पहाडी हावापानीले मलाई जीवनको सौन्दर्य सिकाएका हुन् , जीवन सुन्दर छ भनेर मैले गाउँबाट नै जानेको हुँ ।
बाल्यकाल बित्दै जाँदा, किशोर उमेर पनि पार गर्दै जाँदा मनभरी नयाँ चाहनाहरू पलाउन थाले । ममा केही नुतन काम गर्ने चाहनाको बिज उम्रन थाले , आफ्नो पहिचान बनाउने चाहनाले आकार लिन थाल्यो । यही चाहनाको वरिपरि मेरो मनभित्र पनि नयाँ सपनालाई फुलाउने रहर जागृत भयो। निश्चितता र अनिश्चितताको भावसहित गाउँ छाडी काठमाडौं झरें, जसरी हजारौं युवाहरू यो सहरमा आउँछन् ; सपनाहरू बोकेर , रहरहरु बोकेर । म पनि आए काठमाडौं सपना बोकेर रहरहरूलाइ आकार दिन ।
काठमाडौं आएको केही समय पछि नै मैले मैले एउटा फरक अनुभव गरे, जीवनमा एउटा बेग्लै पाठ सिके । काठमाडौं आएपछि झोलाभरि साबुन, ब्रस, मन्जन बोकेर गाउँ-गाउँ डुलेर बेच्ने काम पाए ।आर्थिक अवस्था धान्नका लागी यो बाध्यता थियो । जुन गाउँमा मेरो चिनजाका कोही थिएनन, त्यहीँ गाउँको ढोकाढोकामा गई सामान बेच्दा मनमा सङ्कोच र पीडा हुन्थ्यो । जिम्मेवारीले पीडालाई पन्छाएर अगाडि बढ्न सिकायो । त्यो अनुभवले सानै उमेरमा मलाई जीवन जिउने कला र संघर्षको वास्तविक अर्थ बुझायो । जीवनको अनियमित लयलाइ समेत बुझ्न् सके ।
राजधानी आएपछि नै मलाई मिडिया र कलाकारिताको संसारले मोहनी लगायो । हुन त ममा यस्तो रहर गाउँमै छँदादेखिको थियो । नुवाकोटमा विद्यार्थी हुँदा नाटक ,कविता र गीतहरूमा मेरो रुचि थियो । एफएम रेडियोहरू सुनिरहेका हुन्थे । सुगम संगीतमा रुचि भएको युवती थिएँ । रात्रीकालीन समयमा सुगम संगीत हराउनु मेरो पुरानो आदत हो भन्दा पनि हुन्छ ।
काठमाडौं आएपछि सिनेमामा चर्चित अनुहार, सिनेमा सम्बन्धि समाचारहरू अनि रंगीन दुनियाँका चमकले तान्यो। पर्दाका पात्रहरूको जीवन मलाई अनौठो लाग्थ्यो । मैले त्यही क्षेत्रमा लाग्ने सोच बनाए । मलाई कलाकार हुने रहर थियो । सञ्चार क्षेत्र पनि करियर बनाउछु भन्ने लाग्थ्यो ।
यसै क्रममा खोज अनलाइन टिभीमा काम गर्ने अवसर पाएँ । त्यो समय साँच्चै रमाइलो र सिकाइपूर्ण रहयो । त्यहाँ हरेक दिन जस्तो नयाँ नयाँ मान्छे भेट्ने अवसर मिल्थ्यो। माइक समातेर प्रश्न सोध्ने, आफ्नो आवाजमा समाचार भन्ने त्यो अनुभवले मभित्र एक फरक आत्मविश्वास भर्यो । मलाई अहिले पनि सञ्चार क्षेत्र आवाजविहिनहरूको आवाज जस्तो लाग्छ ।
म साथी सहकर्मीहरूसँगको ठट्टा-मजाक गर्न रुचि भएको मान्छे पनि हुँ । कामको व्यस्ततामा पनि हासेर बोल्छु । मनको सफा मान्छे हुँ ।
मलाई खोज अनलाइन टिभीको स्टुडियोमा पुग्दा हरेक दिन उर्जावान बने झैँ लाग्थ्यो । तर त्यो समयको भित्री कथा फरक थियो- यस क्षेत्रमा आम्दानी थिएन । बल्लतल्ल अरु क्षेत्रमा पाएको रोजगारीले जीवन धान्न सजिलो थिएन । काठमाडौँको महङ्गीको कथा सबैलाई थाहा छ । विद्यार्थी थिए, बिस्तारै आर्थिक तनाव बढ्न थाल्यो । सपना ठूलो थियो, त्यसलाई थेग्ने खल्ती त्यति नै साँघुरो हुँदै गयो । घरको जिम्मेवारी, भविष्यको चिन्ता र सवल जीवन बाँच्ने चाहनाले मलाई रोजगारको बाटो रोज्न बाध्य पार्यो । त्यही समयमा मनमा एउटै सोच बलियो हुँदै गयो विदेश गएमा यो आर्थिक अन्योल हट्ला, परिवारलाई पनि केही सहजता दिन सकिएला । पछि देशमा फर्केर मिडिया क्षेत्र र कला क्षेत्रमा केही गर्न पनि सकिन्छ भन्ने लाग्न थाल्यो । यही भावनाले अन्ततः मलाई जापान जाने निधोमा पुर्यायो ।
काठमाडौंमा बसेर उच्च शिक्षा पढ्दै गर्दा नै जापान जाने सपना बोकेकी थिएँ । घरपरिवारबाट टाढा बसेर पढाइ गर्नु त्यतिबेला पनि सजिलो थिएन । सुनसान कोठा, कोठा भाडाको तनाव, आफैं खाना पकाउनुपर्ने झन्झट र परिवारको साथको कमी यी सबै कुराले मनलाई भारी बनाउँथे । तैपनि उज्यालो भविष्यको आशाले हरेक गाह्रोपनलाई सहज सोच्थे। अन्ततः लामो पर्खाइपछि म जापानको धर्तीमा टेक्न सफल भए ।
जापान आएपछि जिन्दगीले सर्वथा नयाँ मोड लियो । भाषा फरक, संस्कृति फरक र वातावरण पनि सर्वथा अपरिचित । सुरुका दिनहरू निकै अलमलमा बिते। साधारण कुरा बुझ्नै धौधौ हुन्थ्यो। विद्यार्थीको परिचयसँगै काम गर्ने बाध्यता पनि थपियो । बिहान कक्षाकोठामा ध्यानमय पढाइ , त्यसपछि पसल वा अन्य ठाउँमा घण्टौं काम गर्ने बाध्यताको दैनिकीले शरीर र दिमाग दुवैलाई स्थिर पार्दै लग्यो । थकाइ र निद्राको अभावले बानी नै बदलिदियो । पढाइ र कामको तराजु सन्तुलनमा राख्नु दिन प्रतिदिन झन् चुनौतीपूर्ण बन्दै गयो ।
सबैभन्दा पीडादायी क्षण त्यही थियो जब आफ्नै हातमा पैसा नहुँदा घर पठाउन असमर्थ हुन्थें । परिवारलाई सहयोग गर्न नसक्दा मनमा एक किसिमको नमिठो आभास पनि हुन्थ्यो । शरीरले त परिवारसँग टाढा थिएँ तर मन त देशमा नै थियो । यहीँ देशको डाँडामा मेरो मन सयर गर्दै छ जस्तो लाग्थ्यो ।
एक्लोपनले सताएका पलहरूमा साथीभाइको सम्झना झन् गाढा भएर आउँथ्यो। नुवाकोटको गाउँमा सँगै हुर्केका बाल्यकालका साथी, काठमाडौंमा पढाइका दिनमा भेटिएका सहकर्मी साथीहरू र जीवनका अलग-अलग मोडमा चिनजान भएका अनगिन्ती शुभचिन्तकहरूसँग बिताएका पलहरू आँखैअगाडि उभिएको भान हुन्छ अचेल ।
प्रीय मित्रसँग चिया पसलमा घण्टौं बसेर गफ गरेको क्षण सम्झिन्छु, कहिले सँगै बाँडेको हाँसो र सानोतिता झगडा पनि याद आउछ्न । ती सबै सम्झनाले हुरुक्कै बनाउछ्न । यी असल मनहरू मबाट भौतिक दुरीमा टाढा छन् तर सम्झनाको तरेली ती सधैं मेरै वरिपरि छन् जस्तो लाग्छ ।
अचेल रातहरूमा एउटा गीत खुब सुन्छु –
म तिम्रो सहर छोडी टाढा टाढा टाढा जादैछु …
यो गीत मेरै लागि लेखे जस्तो लाग्छ । गायनको गहिराई र संगीतको मर्मलाई म हरेक गीत सुन्दा महशुस गर्छु ।
काठमाडौं भीडमा अभिव्यक्त त्यो एक्लोपन, त्यो सुनसानपन आजसम्म पनि मेरो मुटुको एउटा कुनामा उस्तै गरी बसेका छन् । एक्लोपनमा जहिल्यै संगीतको पारख गरिरहेको हुन्छु । कहिलेकाहीं रातको सन्नाटामा पनि आमाको स्वर सुन्न मन लाग्छ, बुबासँग दुईचार शब्द बोल्न मन लाग्छ । सपनामा बा आमा देख्छु साथी संगी देख्छु ।
हालको अवस्था करियरमा नै बढी फोकस भएको छ । र पनि जीवन सधैं आमा बुवाको आशिर्वाद पाएको छु ।
दुःखहरूले पनि मलाई निराश पार्न सकेन । बरु हरेक दु:खले भित्रबाट नै अझ मजबुत बन्दै गए । नुवाकोटको गाउँले जीवनदेखि काठमाडौंको कलाकारिता , पत्रकारिता , रोजगारी अनि अध्ययनका सिलसिलामा जापानसम्मको यात्राले जिन्दगीमा धेरै कुरा सिकेको पनि छु , जानेको छु ।
मिडिया र समाचारहरूले माहोलबाट समय व्यवस्थापन सिके । जीवनका कठिनाइले पनि धैर्य र सहनशीलतालाई सिकाए । आज पनि उही लगनका साथ आफ्नो भविष्य र परिवारको मुस्कानका लागि म अघि बढिरहेकी छु ।
मलाई विश्वास छ -जुन सपना बोकेर यति टाढा आइपुगेकी छु, यो सपना कुनै दिन साकार अवश्य हुनेछ। आज संघर्षले भोलि दिनमा मलाई सफलतातिर डोर्याउनेछ भन्ने आशा मरेको छैन । कठिनाइविनाको सपना पनि अधुरो हुन्छ भनेर बुझेको छु । आफ्नो सपनालाई यथार्थमा बदलेरै छाड्ने अठोट ममा छ ।
आज पछाडि फर्केर हेर्दा लाग्छ, यात्रा सजिलो थिएन, तर यही यात्राले मलाई संघर्षले बनेको प्रशंसा घिमिरे बनायो। कठिनाइहरूले मलाई बिथोल्न खोजे, तर तिनैले मलाई निर्भीक उभिन पनि सिकाए । सायद जीवनको नियम हो यो ।जति उकालो छिचोल्छिन्छ , त्यति नै अग्लो शिखर हामीलाई स्वागतमा पर्खिरहेको हुन्छ। यसैले म आफ्नो हरेक दिनलाई सिकाइको एक पाठको रूपमा लिन्छु, गुनासो गरेर बस्नुभन्दा अघि बढ्नुलाई नै उत्तम उपाय ठान्छु। त्यही मान्यतासँगै दैनिक जीवनका सानातिना अवरोधहरूलाई पार गर्न सकेको छु ।
मजस्तै सपना बोकेर परदेश आइपुगेका असंख्य दिदीबहिनी र दाजुभाइ छन्, जो रातदिन आफ्नो कर्तव्य निभाइरहेका छन् । उनीहरूलाई पनि यत्ति भन्न चाहन्छु-एक्लोपन थकाइ र यी पीडाहरू पनि अस्थायी हुन् । जिउनुको खास महशुस नै संघर्षबाट हुन्छ । लगनशीलताले ल्याउने फल स्थायी हुन्छ। परिवारसँगको दूरीले माया घटाउँदैन, अझ गाढा बन्छन् आत्मीयताहरू ।
अन्त्यमा, म यति भन्न चाहन्छु मेरो संघर्ष यात्रा अझै सकिएको छैन । यो त एउटा लामो बाटोको सानो पाइला मात्र हो। हरेक पाइलामा मैले आफ्नो सपनालाई अझ नजिकबाट पुर्ण हुँदै गएकी देखेको छु । र त्यही सपनाले नै मलाई हरेक बिहान नयाँ उर्जाका साथ उठ्न प्रेरित गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्